भैरहवा, जेठ २८ – सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको संस्कृति विकास गर्ने उद्देश्यले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवामा सरोकारवाला बीच प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सुरक्षित यात्रा नेपाल केन्द्रीय कार्यालय बुटवलको आयोजना,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको समन्वय र सिद्धार्थनगर नगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
भैरहवाको लुम्बिनी रोडस्थित सन स्टार होटलमा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिका भित्रका स्कुल बस र एम्बुलेन्सका चालक र सह–चालकहरुलाई सडक सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, चालक तथा यात्रुको जिम्मेवारी, दुर्घटना न्यूनीकरणका उपाय तथा सुरक्षित यात्राको व्यवहारिक अभ्यास बारे प्रशिक्षण प्रदान गरिएको थियो ।

सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेल्बासेको अध्यक्षता रहेको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख ईस्तियाक अहमद खाँ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख निशान थापा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख जनक बहादुर शाही, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, सवारी चालक, पत्रकार, सुरक्षाकर्मी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रस्तुत गरिएको अवधारणा तथा सुझावहरूमा नेपालमा सडक दुर्घटना अझै पनि गम्भीर सामाजिक समस्याका रूपमा रहेको उल्लेख गर्दै दुर्घटनाबाट हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरणका लागि समुदाय स्तरबाटै जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो । सहभागीहरूले विद्यालय स्तरदेखि नै सडक सुरक्षा शिक्षा विस्तार गर्नुपर्ने, ट्राफिक नियमको कडाइका साथ पालना गराउनुपर्ने तथा स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजबीच सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रमा सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेल्बासे, सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख ईस्तियाक अहमद खाँ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका बुटवलका प्रमुख निशान थापा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख जनक बहादुर शाही, सुरक्षित यात्रा नेपालका सहजकर्ता दिपक ढकाल लगायतले मन्तव्य राखेका थिए भने जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको प्रमुख (प्रहरी निरिक्षक) प्रतिमा कार्कीले चालक तथा सह- चालकहरुलाई प्रशिक्षित गरेकी थिइन ।
छलफलका क्रममा सुरक्षित यात्रा नेपालले विगतदेखि सञ्चालन गर्दै आएका सडक सुरक्षा सचेतना अभियान, प्रशिक्षण कार्यक्रम तथा दुर्घटना न्यूनीकरणका प्रयासबारे जानकारी गराइएको थियो । साथै, सुरक्षित यात्रा नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय भएकाले यसको सुनिश्चितताका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो । कार्यक्रममा सहभागीहरूले सडक सुरक्षासम्बन्धी अनुभव, जिज्ञासा तथा सुझावहरू राखेका थिए ।
१३ बर्ष अगाडि २०७१ सालमा स्थापना भएको सुरक्षित यात्रा नेपालले सडक दुर्घटनाबाट हुने क्षति कम गर्न र मर्यादित यात्राको लागि विगत देखि अभियान संनालन गर्दै आइरहेको र आगामी दिनमा यस्ता जनचेतनामूलक तथा सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिइने आयोजकले बताएको छ ।


