३१ असार,सैनामैना-रुपन्देही ।
रूपन्देहीको सैनामैना नगरपालिका–१ र २ बनकट्टामा सञ्चालित सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आर्थिक वर्ष २०८२/८३ मा खानेपानी सेवा विस्तार, पूर्वाधार विकास, गुणस्तर सुधार तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । संस्थाले आज वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै सेवा क्षेत्र भित्रका उपभोक्तालाई सुरक्षित रगुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विभिन्न योजना सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएको छ ।
संस्थाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सैनामैना प्राकृतिक चिकित्सा केन्द्रलाई प्रति घण्टा ३०० लिटर तातो तथा चिसो पानी उत्पादन गर्ने आधुनिक मेसिन उपलब्ध गराइएको छ। यस्तै कोरा साइकल यात्रामा सहभागीहरूलाई चिसो पानी, गुड तथा मिश्री पानी वितरण गर्नुका साथै सामाजिक तथा धार्मिक स्थलहरूमा सरसफाइ अभियान सञ्चालन गरिएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, रुपन्देहीसँगको सहकार्यमा संस्थाले समावेशी आयोजना अन्तर्गत ओभरहेड ट्यांकी तथा २ वटा बोरिङमा आवश्यक अटोमेसन प्रणाली जडान गरेको छ । पूर्वमा बमाहा खोलादेखि पश्चिम मनकामना चोकसम्म करिब ५७५ मिटर पाइपलाइन विस्तार सम्पन्न भएको र अन्य स्थानमा पनि विस्तार कार्य जारी रहेको संस्थाले जनाएको छ।
संस्थाले आर्थिक वर्षभर विभिन्न स्थानबाट पानीको गुणस्तर परीक्षण गरी सुरक्षित खानेपानी खानेपानी सुरक्षा टोलीमार्फत जनचेतनामूलक कार्यक्रम, घरदैलो अनुगमन तथा निरीक्षण सञ्चालन गरिएको संस्थाले जनाएको छ । कार्यालय व्यवस्थापनका लागि आवश्यक सामग्री खरिद, कार्यालय परिसरको सौन्दर्यीकरण, सूचना बोर्ड तथा सन्देशमूलक होर्डिङ बोर्ड स्थापना गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाइएको छ ।

संस्थाको हाल सेवा क्षेत्र १३.४४ वर्ग किलोमिटर रहेको छ भने वडा नं. १ र २ का उपभोक्तालाई सेवा प्रदान गर्दै आएको छ। संस्थाको पाइपलाइन सञ्जाल ११९.२७ किलोमिटर पुगेको छ भने सेवा क्षेत्र विस्तारसँगै नयाँ धारा जडान, पाइपलाइन विस्तार तथा मर्मत कार्यनिरन्तर भइरहेको जनाइएको छ ।
सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
संस्थाले खानेपानी सेवा मात्र नभई सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि प्राथमिकता दिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, विपद्व्यवस्थापन तथा दिर्घरोगी उपभोक्ता एवम विभिन्न सामाजिक संस्थाका कार्यक्रमहरूमा आर्थिक सहयोग प्रदान लगायत यो आर्थिक बर्षमा १ दिने निशुल्क दन्त शिविर समेत सम्पन्न गरिएको छ । संस्थाले आफ्नो क्षेत्र भित्र पर्ने १९ वटा टोल विकास संस्था मध्ये १४ वटालाई सरसफाइ कार्यक्रमको लागी प्रतिटोल रु. १० हजारका दरले कुल रु. १ लाख ४० हजार सहयोग उपलब्ध गराएको जनाएको छ ।
उपभोक्ताको समस्या समाधानमा प्राथमिकता
विद्युत अवरोध हुँदा डिजेल जेनरेटरमार्फत पानी वितरण गरिएको, पाइप फुट्ने, चुहावट हुने, बोरिङ बिग्रने लगायतका समस्यालाई तत्काल समाधान गरिएको संस्थाले जनाएको छ । उपभोक्ताको गुनासो सुन्न नियमित अनुगमन, निरीक्षण तथा फिल्ड भ्रमण गरी आवश्यक मर्मत सम्भार गरिएको उल्लेख गरिएको छ । त्यस्तै वर्षायाम, बाढी तथा अन्य प्राकृतिक कारणबाट क्षति पुगेका पाइपलाइन रसंरचनाको मर्मत समेत गरिएको जनाएको छ ।
आर्थिक अवस्था सन्तोषजनक
वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा संस्थाको कुल आम्दानी रु. १ करोड २३ लाख ९ हजार २६२ रहेको छ भने कुल खर्चरु. ७७ लाख ७८ हजार ४ सय ६७ रहेको छ । संस्थाले करिब रु.४५ लाख ७० हजार ७९५ बचत गर्न सफल भएको जनाएको छ ।
आगामी योजना
संस्थाले आगामी दिनमा खानेपानीको स्रोत संरक्षण, नयाँ पाइपलाइन विस्तार, अत्याधुनिक प्रविधिको प्रयोग, नियमित गुणस्तर परीक्षण, चुहावट नियन्त्रण, सेवा क्षेत्र विस्तार तथा उपभोक्तामैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।
वार्षिक प्रतिवेदनले सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था केवल खानेपानी वितरण गर्ने संस्थामा सीमित नभई सामाजिक उत्तरदायित्व, पूर्वाधार विकास, वातावरण संरक्षण, पारदर्शी आर्थिक व्यवस्थापन तथा दिगो सेवा प्रवाहमा समेत उदाहरणीय संस्थाका रूपमा अघि बढिरहेको स्पष्ट देखाएको छ ।
संस्था वि.सं. २०६५ असार ११ गते (नेपाल सरकार जलस्रोत ऐन २०४९ तथा जलस्रोत नियमावली २०५० अन्तर्गत दर्ता भएको हो )
आज वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष एक बहादुर क्षेत्रीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष केशरमणी भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुको साथै सचिव सुशिल भण्डारीले कार्यक्रमको संचालन गरेका थिए ।

