रुपन्देही । स्याङ्जाबाट रुपन्देहीमा आई विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरूको साझा संस्था स्याङ्जा (ग.न.पा.) रुपन्देही सम्पर्क समाज, रुपन्देहीले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
समाजको दोस्रो वार्षिक उत्सवको अवसरमा साउन २७ गते देवघाट समाज कल्याण केन्द्र, देवघाट तनहुँद्वारा सञ्चालित वृद्धाश्रममा भोजन ग्रहण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई भोजन सहित खाध्यान्य र नगद समेत उपलब्ध गराइएको कार्यक्रम संयोजक मिरा भण्डारीले जानकारी गराउनुभयो ।
समाजले वार्षिक उत्सवलाई केवल औपचारिक कार्यक्रमका रूपमा मनाउनुको सट्टा सामाजिक सेवासँग जोड्ने उद्देश्यले वृद्धाश्रममा भोजन कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा ज्येष्ठ नागरिकहरूसँग भेटघाट तथा आत्मीयता आदानप्रदान समेत गरिएको थियो ।
कार्यक्रममा समाजका अध्यक्ष जनक कुमार श्रेष्ठ सहित अन्य पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । सहभागीहरूले वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूको अवस्था तथा आवश्यकताबारे जानकारी लिँदै उनीहरूसँग केही समय बिताएका थिए । समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता मानवीय सेवाका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ ।
स्याङ्जाबाट रुपन्देहीमा आएर बसोबास गर्ने तथा विभिन्न पेशा, व्यवसाय र सामाजिक क्षेत्रमा आबद्ध व्यक्तिहरूबीच आपसी भाइचारा, सद्भाव र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले स्थापना भएको समाजले सामाजिक सेवाका क्षेत्रमा समेत आफ्नो सक्रियता बढाउँदै आएको छ ।
वार्षिक उत्सवका अवसरमा आयोजित यस प्रकारका कार्यक्रमले ज्येष्ठ नागरिकप्रति सम्मान र सामाजिक जिम्मेवारीको भावना अझ बलियो बनाउन सहयोग पुर्याउने समाजले बताएको छ ।
देवघाटमा सम्पन्न कार्यक्रम मार्फत समाजले ‘आफ्नो खुसी सँगै अरूको खुसीमा पनि सहभागी बनौँ’ भन्ने सामाजिक भावनालाई व्यवहारमा उतार्ने प्रयास गरेको जनाएको छ । वृद्धाश्रममा भोजन सङ्गै खाध्यान र नगद वितरण कार्यले वार्षिक उत्सवलाई थप अर्थपूर्ण र सेवामूलक बनाएको सहभागीहरूको भनाइ छ ।
समाजले आगामी दिनमा पनि सामाजिक, मानवीय तथा परोपकारी गतिविधिलाई प्राथमिकता दिँदै विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

