असार ३१, सैनामैना । रुपन्देहीको सैनामैनामा अवस्थित दुर्गा मन्दिर परिसरमा सरसफाइ अभियान सञ्चालन गर्दै ‘सैनामैना कोरा २०२६’ को औपचारिक शुभारम्भ गरिएको छ ।
साइकल साथी सैनामैनाको आयोजनामा बुधबार बिहान ७ बजेदेखि ८ बजेसम्म सैनामैना–३, मुर्गिया स्थित दुर्गा मन्दिर परिसरमा सरसफाइ अभियान सम्पन्न गरिएको हो । यही अभियानसँगै सैनामैना कोरा २०२६ अन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूको औपचारिकवसुरुवात भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा क्लबका सक्रिय सदस्य, विशेष अतिथि तथा महिला साइकल यात्री अम्बिका सुवेदी ज्ञवाली, अभिभावक सदस्य प्रेम कार्की, क्लबका पदाधिकारी, सदस्य तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै साइकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले कोरा अब एक दिनमा सीमित रहने कार्यक्रम नभई समुदायसँग जोडिएको दीर्घकालीन अभियानका रूपमा अघि बढाइएको बताए । उनले असार ३२ गतेसम्म विभिन्न तयारी, सामाजिक उत्तरदायित्वका कार्यक्रम तथा जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरी सैनामैना कोरा २०२६ लाई भव्य र सफल बनाइने जानकारी दिए ।
अध्यक्ष रानाका अनुसार सैनामैना कोराले केवल साइकल यात्रा मात्र होइन, स्वस्थ जीवनशैलीको प्रवर्द्धन, वातावरण संरक्षण, खेलकुद विकास, पर्यटन प्रवर्द्धन, सामाजिक उत्तरदायित्व र सामुदायिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्य बोकेको छ ।
दुर्गा मन्दिर परिसरमा सम्पन्न सरसफाइ अभियानले “स्वच्छ वातावरणबाट सफल कार्यक्रमको सुरुवात” भन्ने सन्देश दिएको आयोजकको भनाइ छ । साइकल साथी सैनामैनाले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत यस वर्ष पनि जनहितका विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
यसैक्रममा असार ३२ गते सैनामैना–२ स्थित हिलपार्कमा डस्टबिन स्थापना कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रम पनि सैनामैना कोरा अभियान अन्तर्गत सञ्चालन हुने सामाजिक उत्तरदायित्वका कार्यक्रम मध्ये एक रहेको आयोजकले जनाएको छ ।
साथै, आयोजकले सम्पूर्ण नगरवासीलाई श्रावण १ गते आयोजना हुने प्रथम सैनामैना MTB XC Marathon Race तथा श्रावण २ गते हुने सैनामैना कोरा २०२६ मा उत्साहपूर्वक सहभागी भई कार्यक्रमलाई सफल बनाउन हार्दिक आग्रह गरेको छ ।
साइकल संस्कृति, स्वच्छ वातावरण र सामुदायिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको सैनामैना कोरा २०२६ ले नगरमा स्वास्थ्य, पर्यटन र सामाजिक अभियानलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ ।

