३ जेठ बुटवल– बुटवलमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले सरकार विरुद्ध प्रदर्शन गरेका छन् । वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई उचित व्यवस्थाविना हटाउन खोजिएको भन्दै उनीहरूले सरकारका विरुद्ध सडक प्रदर्शन गरेका हुन् ।

नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीको आयोजनामा भएको प्रदर्शन राजमार्ग चौराहाबाट सुरु भई मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा विशेष गरि तराईका २२ जिल्लाबाट आएका सुकुम्बासीहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।
विरोध कार्यक्रममा संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलले सरकारले दीर्घकालीन समाधानको योजना नबनाई सुकुम्बासी बस्तीमा डोजर चलाउने, घरटहरा भत्काउने तथा नागरिकलाई विस्थापित गर्ने काम गरिरहेको आरोप लगाए । उनले वैकल्पिक व्यवस्थाविना गरिएको बस्ती हटाउने अभियानका कारण देशभर करिब १२ लाख परिवार प्रभावित भएको दाबी गर्दै झण्डै ५० लाख नागरिक प्रत्यक्ष असरमा परेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै संघर्ष समितिका सल्लाहकार विरेन्द्र सि ले सरकारले कुनै सुकुमबासीको घर वा बस्तिमा डोजर लगाए देशभरका ५०/६० लाख सुकुमबासी र अव्यवस्थित बसोबासी एक ठाउँ भएर प्रतिरोध गर्ने बताए ।
प्रदर्शनकारीहरूले भूमिहीन तथा अव्यवस्थित बसोबासीको स्थायी समाधान, सुरक्षित आवास र मानव अधिकारको सम्मान गर्न सरकारसँग माग गरेका छन् ।
त्यस्तै खुला कार्यक्रम पश्चात विभिन्न जिल्लाहरु बाट आएका सुकुमबासी प्रतिनिधिको उपस्थिति र सहभागितामा राष्ट्रिय भेला मार्फत नयाँ नेतृत्व चयन सङ्गै आगामी सङ्घर्षका कार्यक्रम तय गरिने आयोजकले बताएको छ ।


