तनहुँको बन्दीपुर गाउँपालिका वडा नं १ मा कपडा बैंक शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थापाले आफूले पनि कुनै बेला कपडा बैंककै कपडा लगाएको स्मरण गर्दै बन्दीपुरमा समेत स्थायी रूपमा कपडा बैंक सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले हाल सञ्चालनमा रहेको कपडा बैंकबाट भरपुर सेवा लिन समेत सबैलाई अनुरोध गरे ।

कपडा बैंकका सञ्चालक तथा सामाजिक अभियन्ताले कपडा बैंकको उद्देश्य, सामाजिक प्रभाव र सेवाबारे जानकारी गराएका थिए । त्यसैगरी वडा अध्यक्ष शिवकुमार श्रेष्ठले आफू पनि सानो हुँदा यस्तै कपडा लगाएर हुर्किएको उल्लेख गर्दै बिना हिचकिचाहट वडा कार्यालयमा आएर सेवा लिन सबैलाई आग्रह गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, बुद्धिजीवी, समाजसेवी, वडा सदस्य, महिला समूह, युवा तथा चेपाङ समुदाय सहित ३ सय भन्दा बढि स्थानियको उपस्थिति रहेको थियो । सोही अवसरमा कपडा बैंकको औपचारिक शुभारम्भ गर्दै ४ सय ४२ जनालाई २/२ जोरका दरले न्यानो कपडा वितरण गरिएको आयोजकले बताएको छ ।

कार्यक्रममा सभापतिको रूपमा वडा नं १ का अध्यक्ष शिवकुमार श्रेष्ठ तथा प्रमुख अतिथिको रूपमा गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको उपस्थिति रहेको थियो ।

