२२ माघ, सैनामैना । सैनामैना व्यापार संघले सुरु गरेको सातौँ सैनामैना कृषि, पर्यटन तथा ब्यापार महोत्सव २०८२ को दशौँ दिन सम्म आइपुग्दा ७० हजार वरिपरि दर्शकहरुले अवलोकन गरेका छन ।
रुपन्देहीको सैनामैना नगरपालिका ६ कलौनीमा माघ १२ गते देखि सैनामैना ब्यापार संघको आयोजनामा सुरु भएको सैनामैना कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८२ को दशौँ दिनसम्म आइपुग्दा उत्साहजनक उपस्थिति रहेको र आजसम्म ७० हजार वरिपरि दर्शकहरुले अवलोकन गरेको सैनामैना व्यापार संघका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक सुरेन्द्र पौडेलले बताउनुभयो ।
माघ २५ गतेसम्म संचालन हुने महोत्सवमा एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने र ५ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले बताएको छ ।

महोत्सवमा कूल १ सय ३० वटा स्टल रहने आयोजक समितिका प्रचार प्रसार संयोजक शिवलाल घिमिरेले जानकारी दिनुभयो। महोत्सवको टिकट एक सय रुपैया कायम गरिएको छ भने विद्यार्थीलाई कार्डको आधारमा छुट तथा बृद्ध र अपांगहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
स्थानीय व्यापार, कृषि, पर्यटन, कला र संस्कृतिको प्रबर्धन गर्ने उद्देश्यका साथ महोत्सव सुरु गरिएको हो । महोत्सवमा स्थानिय व्यापार, घरेलु उद्योग, कृषक र साना व्यवसायीलाई प्रोत्साहन गर्न सहयोग पुग्ने आयोजकको भनाई छ ।
महोत्सवको आकर्षणको रुपमा हरेक दिन सांस्कृतिक कार्यक्रम, भजन, डान्सिङ आईडल, विज्ञान प्रदर्शनी, महिला पुरुष जोडी नृत्य तथा विद्यालय स्तरीय लोकनृत्य समेत समाबेश हुँदै आइरहेको छ । महोत्सवको आकर्षणको रुपमा पर्यटन क्षेत्रलाई समेटेर फोटो प्रदर्शनीतथा जलपरी र कलात्मक लण्डन ब्रिजको आकर्षण समेत रहेको छ ।

