१४ पौष, बुटवल । समृद्ध नेपाली अर्थतन्त्रको आधार स्वदेशी उद्यमशीलताको विस्तार नै भएको निष्कर्षका साथ रुपन्देही उद्योग संघले १६औं औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको अवसरमा सोमबार ‘समृद्ध नेपालीको आधारः स्वदेशी उद्यमशीलताको विस्तार– समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा अर्थशास्त्री, नीति निर्माता, निजी क्षेत्रका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूले नेपालको वर्तमान अर्थतन्त्र राजनीतिक अस्थिरता, नीतिगत अन्योल, कमजोर प्रशासनिक संरचना र स्वदेशी उत्पादनप्रति राज्यको उदासीनताका कारण गम्भीर संकटतर्फ धकेलिएको निष्कर्ष निकालेका छ कार्यक्रममा अर्थविद डा. केशव आचार्यले अर्थतन्त्र बाहिर चम्किलो, भित्र कमजोर रहेको बताउनुभएको छ । उहाँका अनुसार केही वर्ष आयात–निर्यात सामान्य देखिए पनि उत्पादन, रोजगारी र आन्तरिक माग कमजोर अवस्थामा छ।

“राजनीतिक अस्थिरताले सधैं आर्थिक वृद्धिदरमा असर गरेको इतिहास छ, जेन–जी आन्दोलनपछि त्यो अझ बढ्यो,” उहाँले भन्नुभयो ।“हिजो निर्यात गरिरहेका उद्योग किन धराशायी भए भन्ने विषयमा गहिरो आत्मसमीक्षा गर्नुपर्छ,” उहाँले जोड दिनुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष ई वीरेन्द्र पाण्डेले निजी क्षेत्रको मनोबल खस्किएको बताउनुभयो । पाण्डेले उद्योग र निजी क्षेत्रको मनोबल गम्भीर रूपमा खस्किएको विषय सामान्य नभएको जनाउनुभयो ।
राष्ट्र बैंककी कामु गर्भनर डा. निलम ढंगानाले कार्यक्रमको नारालाई अर्थपूर्ण र समय सान्दर्भिक भएको बताउँदै राजनीतिक प्रभावलेअर्थतन्त्रमा असर पार्ने कुरा स्वाभाविक भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “परिसूचक राम्रा छन्, विदेशी विनिमय सन्तुलन ठीकछ, मुद्रा स्फीति भारतभन्दा कम छ, तर राजस्व र खर्च उत्साहजनक छैन ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्ली अर्यालले प्रदेश सरकारले तथ्यमा आधारित प्राथमिक योजना बनाएकोबताउनुभयो । “कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता दिएर बजेट बनाइएको छ,” उहाँले भन्नुभयो “तर प्रदेशको दायरा सीमित छ, केन्द्र सरकार मानिर्भरता बढी छ।”
यो अन्तरसंवादले निराशा होइन, नीति र समन्वयको खाँचो रहेको निष्कर्ष निकालेको संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बताउनुभयो । कार्यक्रममा सहभागी सबैले स्वदेशी उत्पादन, उद्यमशीलताको सम्मान, स्थिर नीति, अन्तरनिकायगत समन्वय रकार्यान्वयनमुखी दृष्टिकोण बिना समृद्धि सम्भव नरहेको विषयमा जोड दिएको महासचिव सुमन बस्यालले जानकारी दिनुभयो ।

