सैनामैना , भाद्र ९ – सैनामैना नगरपालिका वडा नं १ आदर्श पथ अवस्थित श्री सैनामैना मेमोरियल स्कुलमा भाद्र ८ गते आइतबार (आज) अन्तर सदनात्मक तिज गीत तथा नृत्य प्रतियोगिता सम्मन्न भएको छ ।
जुनियर र सिनियर गरी दुई चरणमा सम्पन्न भएको कार्यक्रममा अप्रतियोगीको रुपमा विभिन्न विद्यार्थी तथा शिक्षिकाहरुको प्रस्तुतिले कार्यक्रममा रौनक थपेको थियो ।
कार्यक्रममा सैनामैना नगरपालिका वडा नं १ का जनप्रतिनिधि प्रेमलाल भुसालले यस खालका मौलिक तथा सांस्कृतिक कार्यक्रम मार्फत संस्कृतिको जगेर्ना र पुस्तान्तरणमा यस विद्यालयले अहम् भूमिका खेल्दै आएको बताउँदै सबैमा तिज पर्व २०८२ को शुभकामना व्यक्त गरेका थिए ।
साथै कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य डि.बि. खत्रीले अत्यन्तै चेतनामूलक प्रस्तुति प्रस्तुत गरेकोमा प्रतियोगी तथा सम्बन्धित सबैमा धन्यवाद ज्ञापन गर्दै हाम्रो आँगनमा आइसकेको हरितालिका तिज पर्वको गरिमा र महिमालाई उजागर गर्दै यसको ऐतिहासिक र धार्मिक महत्वको दायराभित्र रहेर हरेक तिजमा मौलिक परम्पराको जगेर्ना र हस्तान्तरणमा विद्यालयले भूमिका खेल्दै आएको र खेलिरहनु पर्ने बताए ।
उक्त प्रतियोगितामा जुनियर तर्फबाट प्रथम स्थान सगरमाथा सदनबाट आकृती पन्थीको समूह, द्वितीयस्थान धौलागिरी सदनबाट सदीक्षा भुसालको समूह र तृतीय स्थान अन्नपूर्ण सदनबाट प्रिन्सा भण्डारीको समूह भने सिनियरतर्फबाट प्रथम स्थान अन्नपूर्ण सदनबाट प्रकृती भण्डारीको समूह, द्वितीय स्थान कञ्चनजंघा सदनबाट श्रेया खड्काको समूह र तृतीय स्थान धौलागिरी सदनबाट प्रशंसा भण्डारीको समूहले प्राप्त गरेको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रकाश चौधरीले जानकारी गराएका थिए ।
विद्यालयका सह– प्राचार्य पदम अर्याल , शिक्षिकाहरु सुनिता थापा र विष्णु नेपाल निर्णायक रहेको कार्यक्रमको सञ्चालन भने कक्षा ९ मा अध्ययनरत विद्यार्थीद्वय पार्सा खत्री र प्रकृती भण्डारीले गरेका थिए ।