पर्सामा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर एक कैदीको मृत्यु भएपछि उनका आफन्तहरूले प्रदर्शन गरेका छन् । २८ वर्षीय राहुल साहको अचानक निधन भएपछि आफन्त आक्रोशित भएका हुन । उनको २५ वर्ष कैद सजायको फैसला थियो ।
नारायणी उपक्षेत्रीय अस्पताल अगाडि आफन्तहरूले टायर बालेर विरोध प्रदर्शन सुरु गरेका छन । प्रहरीका अनुसार, मंगलबार बिहान राहुल वान्ता गरी अचानक बेहोस भएका थिए । उनलाई तत्काल अस्पताल लगिएको भए पनि उनको निधन भएको थियो ।
उपचारका लागि अस्पताल भर्ना गरिएको भए पनि आफन्तहरूले कारागार प्रशासनको लापरवाहीका कारण राहुलको मृत्यु भएको आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार अहिले प्रदर्शनकारीसँग संवाद चलिरहेको छ । प्रहरीले घटनाको थप छानबिन गरिरहेको छ।

