२३ साउन, बुटवल । बुटवलमै पहिलो पटक बारम्बार कुमको जोर्नी फुस्किने समस्याको दुर्विन प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ । यो प्रविधिको विकास र प्रयोग सङ्गै बारम्बार कुमको जोर्नी फुस्किएर समस्यामा परिरहेका प्रभावितहरुलाई ठुलो राहत पुग्ने विश्वास लिइएको छ ।
मंगलवार लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा पहिलो पटक दुर्विन प्रविधिबाट बारम्बार कुमको जोर्नी फुस्किने समस्याको सफल शल्यक्रिया (Arthroscopic bankart repair) गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका हाडजोर्नी, स्पोर्ट तथा आर्थोसकोपी विशेषज्ञ डा. उत्सव रेग्मीले बताउनुभयो ।
करिव २ घण्टा ३० मिनेटको समयमा डा. उत्सव रेग्मीको नेतृत्वमा लुम्बिनी प्रादेशिक अस्पतालको हाडजोर्नी टिमको सहभागितामा सम्पन्न गरिएको उक्त अप्रेशनमा डा.सुरेन्द्र कुँवरले एनेस्थेसिया विभागको नेतृत्व गर्नुभएको थियो ।
पछिल्लो समयमा विकशित दुर्विन प्रविधि उपचार गर्नको लागि एक सुरक्षित शल्यक्रिया प्रविधि हो । यो अत्याधुनिक प्रविधी अहिले बुटवलमा उपलब्ध छ । “परम्परागत ओपन सर्जरीको तुलनामा धेरै फाइदाजनक यो प्रविधिबाट सानो घाउ र न्यूनतम tissue damage हुनाले छिटो निको हुने र सानो खत हुनुको साथै इन्फेक्सनको सम्भावना समेत निकै कम हुने“ डा.रेग्मीले बताउनुभयो ।
हाल बुटवलमा अत्याधुनिक दुर्विन प्रविधिबाट घुँडाको चोटपटकको समेत सफल शल्यक्रिया भैरहेको र आजसम्म लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र बुटवल हस्पिटल प्रा.ली. मा गरि १ सय भन्दा बढिको यो प्रविधिबाट उपचार गरिएको डा. रेग्मीले जानकारी दिनुभयो ।
पछिल्लो समय बुटवलमै यो स्तरको अत्याधुनिक प्रविधि सहितको सेवा प्रवाह हुन गैरहेको हुँदा आगामी दिनमा यि समस्याहरुबाट पिडित नागरिकहरुले राजधानी लगायत देशका अन्य स्थानमा उपचारको निम्ती धाउनुपर्ने समस्याहरुको समाधान सङ्गै झन्झट र पैसाको समेत बचत हुने विश्वास लिइएको छ ।