२२ साउन – पावर संचार संवाददाता !
तम्घास, गुल्मी – पवित्र धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गा यतिबेला विवादको घेरामा परेको छ । अलौकिक उपचार गर्ने दाबी गर्दै एक व्यक्ति रेसुङ्गामा बसेको र उनलाई नै संरक्षण दिएको आरोप रेसुङ्गा संरक्षण समिति माथी लागेको छ ।
यस प्रकारको कार्यलाई लिएर स्थानीयवासी लगायत केही संघ/संस्था र सङ्गठनहरूले बिरोध जनाउदै यस्ता कार्यहरूले रेसुङ्गाको पवित्रता, गरिमा र धार्मिक महत्व माथी नै आँच आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
यस प्रकारको गतिबिधिले सामान्य नागरिकहरुमा भ्रम छर्दै ठगि गरेको भन्दै यो कार्यलाई छिटोभन्दा छिटो रोक्नको लागी माग गर्दै प्रेस सेन्टर गुल्मीले नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएको छ । उक्त सङ्गठनले एक जना व्याक्तिको प्रभावमा समग्र रेसुङ्गाको महिमा र गरिमामै आँच पुग्ने गरि यस्ता अन्धविश्वासलाई प्रोत्साहन गर्नु र रोक्न नसक्नु रेसुङ्गा संरक्षण समितिको कमजोरी भएको बताएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले “यो धर्म र संस्कृति सङ्ग जोडिएको संवेदनशील विषय हुँदा यसमा रेसुङ्गा संरक्षण समितिले नै के गलत र के ठिक भन्ने कुरा छुट्याएर अगाडी बढ्नुपर्ने बताए ।”
‘त्यस्तै रेसुङ्गा नगरपालिकाले ति व्याक्तिलाई किन ल्याइयो र यसको उदेश्य के हो ? यो विषयमा रेसुङ्गा संरक्षण समिति सङ्ग भोली जवाफ माग्ने नगरपालिकाका सुचना प्रविधि अधिकारी सुरेश खनालले बताए ।’
यता रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेस चन्द्र भुशालले ति व्यक्तिलाई संरक्षण समितिले नै बोलाएको र ति व्यक्तिको अलौकिक क्षमता देखेर आफु नै अचम्मित भएको बताउदै हिजो अक्सिजनको भरमा बाँचेका कैयौ बिरामीहरु आज बिना अक्सिजन हिड्न सक्ने भएको दावी समेत गरे ।
१७ गते आएर १८ गते बाट काम सुरु गरेका ति व्यक्तिले हालसम्म ६,७ सय जनाको उपचार गरेको र धेरैलाई ठिक बनाएको दावी गर्दै अध्यक्ष भुशालले ति व्यक्ति २४ गतेसम्म रहने बताउदै यसले रेसुङ्गाको प्रचार प्रशारमा टेवा पुग्ने समेत दावी गरे ।
रेसुङ्गा डाँडामा प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन लाग्ने “साउने मेला” यस क्षेत्रको सांस्कृतिक र धार्मिक गहना हो । हजारौं श्रद्धालुहरू स्नान, पूजाआजा, दर्शन तथा मेलामा सहभागी हुन यहाँ आइपुग्ने गर्छन् । यस्ता पवित्र अवसरहरूमा ठगीजस्ता कार्यहरू प्रोत्साहित हुनु दुःखद भएको स्थानीयको भनाइ छ ।
एक स्थानीय समाजसेवीले भने,“यदि उपचार चमत्कारी शक्तिबाट नै सम्भव छ भने अस्पताल, डाक्टर, औषधि किन चाहिन्छ? राज्यले नै त्यसलाई मान्यता दिएरत लबस हित राख्नु पर्छ । होइन भने, यस्तो अन्धविश्वास फैलाउने व्यक्तिलाई रेसुङ्गाबाट लखेट्नुपर्छ।”
स्वास्थ्य विज्ञहरू पनि यस विषयमा चिन्तित छन् । उनीहरूका अनुसार यस्ता दावीहरूले मानिसहरूलाई वैज्ञानिक उपचारबाट विमुख गराउने जोखिम हुन्छ। “यस्ता विश्वासका कारण धेरैले समयमै औषधि नखाई ज्यानसम्म गुमाउन सक्छन्,” एक चिकित्सकले भने।
रेसुङ्गा संरक्षण समितिले यस्ता गतिविधिलाई किन समर्थन गर्यो भन्ने प्रश्न उठिरहेको छ । मेलाको समयमा हजारौं दर्शनार्थी उपस्थित हुने हुँदा, यस्तो भ्रम फैलनु नैतिक र सामाजिक रूपमा गम्भीर चुनौती भएको स्थानीय बुद्धिजीवीहरूले बताएका छन् ।