काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल)ले ७५ जना जम्बो पदाधिकारी टीम बनायो ।
वाईसीएलले पारित गरेका विधानको सीमा नाघेर पार्टीको निर्देशन अनुसार सर्वसम्मत नेतृत्व चयन गर्न पदाधिकारीको संख्या ठूलो बनायो । अध्यक्षमा भने लामो रस्साकस्सीपछि पुष्प ओलीको नाममा सहमति जुटाएको थियो ।
नेकपा माओवादी केन्द्रले सबैलाई मिलाएर जाँदा सोचेभन्दा ठुलो पदाधिकारीको संख्या हुन गएको स्वीकारेको छ ।
वाईसीएलले तेस्रो राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत रुपमा पुष्प ओलीको नेतृत्वमा संगठनको उपाध्यक्षमा २२ जना निर्वाचित गरेको छ । यस्तै महासचिवमा गणेश शाही, उपमहासचिव १९ र ३१ जना सचिव चयन गरेको छ । कोषाध्यक्षमा राजिव गिरी सर्वसम्मत चयन भएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्नको लागि वाइसिएलले पदाधिकारीको संख्या बढाएको हो ।
यता वाईसीएलले पदाधिकारीको संख्या ठूलो बनाउँदा एमालेका महासचिव शंकर पोखरेलले भने चिन्ता व्यक्त गरेका छन ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘वाईसीएलले ७५ जना पदाधिकारी नै बनाएछ । सङ्गठनात्मक अराजकताले सामाजिक अराजकता फैलिएको प्रति ध्यान दिन नसक्नु दुःखद पक्ष हो ।’