महालेखा परीक्षकको २०८०/०८१ को प्रतिवेदन अनुसार अर्घाखाँचीको पाणिनी गाउँपालिका लुम्बिनी प्रदेशमै सबैभन्दा कम बेरुजु देखिएको पालिकाको रूपमा अगाडि आएको छ भने देशमै छैटौँ नम्बरमा परेको छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार पालिकाको जम्मा बेरुजु रकम १५ लाख ३५ हजार रुपैयाँ मात्र रहेको छ, जुन कुल खर्चको ०.११ प्रतिशत भएको पालिकाका आन्तरिक लेखा परिक्षण अधिकृत रामचन्द्र चुदालीले जानकारी दिए ।
यो उपलब्धिले पालिकाको वित्तीयअ अनुशासन र पारदर्शिता प्रति प्रतिबद्धता झल्काउँछ । यो सफलताको मुख्य श्रेय पालिका अध्यक्षको स्पष्ट दृष्टिकोण, सुशासनप्रति प्रतिबद्धता र इमानदार नेतृत्वलाई दिइएको छ । अध्यक्षले बजेट निर्माण देखि खर्चको प्रत्येक प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्ने नीतिगत पहलहरू अगाडि बढाएको बताइएको छ ।
त्यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृतले योजनाको कार्यान्वयन, लेखाजोखा व्यवस्थापन र अनुगमनमा विशेष ध्यान दिएको र प्रत्येक वडास्तरमा बजेटको सदुपयोग सुनिश्चित गरि बजेट कार्यन्वयनमा भुमिका खेलेको पाइन्छ ।
पालिकामा यस प्रकारको वित्तीय अनुशासन र पारदर्शिता कायम राख्न आन्तरिक लेखा परीक्षकले नियमित परीक्षण, पूर्व समीक्षा तथा सुझावहरू मार्फत वित्तीय अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेलेका हुन्छन । पाणिनीमा खर्चको हरेक विवरणलाई दस्तावेजीकृत गर्दै आन्तरिक नियन्त्रण प्रणाली लाइ प्रभावकारी रुपमा अगाडि बढाउन आन्तरिक लेखा परिक्षणको महत्वपूर्ण भूमिका रहको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए ।
पाणिनी गाउँपालिकमा यो सफलता ल्याउनुमा विभिन्न शाखा प्रमुखहरूले पनि आफ्नो आफ्नो क्षेत्रभित्र जिम्मेवारीपूर्वक कार्य गर्दै योजना कार्यान्वयनमा देखिएको कुनै पनि समस्यालाई समयमै सच्याउदै गएको र आर्थिक,योजना,प्राविधिक,शिक्षा,स्वास्थ्य ,आलेप जस्ता शाखाहरुबीच समन्वय कायम गर्दै यसमा जनप्रतिनिधी तथा कर्मचारीको साथ र सहयोग रहेको पालिकाले बताएको छ ।
यसरी पाणिनि गाउँपालिकाले देखाएको यो वित्तीय अनुशासनले अन्य स्थानीय तहहरूलाई पनि पारदर्शिता र जवाफदेहिता तर्फ प्रेरणा दिने विश्वास लिइएको छ ।