अनिल नेपाली
२३ पौष,अर्घाखाँची–राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले संघीयता बिरूद्व अर्घाखाँचीमा आन्दोलन गर्ने आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले आन्दोलन चैत २४ गते देखि ३० सम्म सञ्चालन हुने बताए ।
राष्ट्रिय जनमोर्चाले प्रादेशिक संरचनाका कारण विकास खर्च कटौती गरेर प्रदेशका मन्त्री,सांसद पाल्नुपरेको,जनताले अनावश्यक करको बोझ बोक्नुपरेको, वैदेशिक ऋण बढेको, राष्ट्रियता तथा अखण्डता माथी खतरा बढेको, राष्ट्रिय एकतामा खलल पुगेको तथा केन्द्रको विकृत राजनीति देशका सात ठाउँमा विकेन्द्रित भएको निष्कर्ष सहित संघीयता खारेज गर्नुपर्नेमा जोड दिदै जनमोर्चाले संघीयताको विकल्पमा प्रजातान्त्रिक विकेन्द्रियता सहितको एकात्मक राज्य हुनुपर्ने धारणा अघि सारेको बताउदै देशमा अहिले पनि प्रतिगमनको खतरा बढेको बताएको छ ।
राजमोले स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिदै देशमा भ्रष्टाचार कुसंस्कार लगायतका दिनप्रतिदिन घटना बढेकोले ९ बर्षमा ९ वटा समिकरण ११ वटा सरकार हुनु देशको लागी दुर्भाग्य भएकोले देशमा स्थिर सरकार अहिलेको आवश्यकता भएकोमा जोड दिदै अहिले पनि देशी विदेशी शक्ति केन्द्रले नेपालमा गिद्धे नजर लागेको बताएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसीले केन्द्रको निर्देशन अनुसार अर्घाखाँचीमा आन्दोलनलाई थप मजबुत बनाउन जिल्लामा विभिन्न समिति निर्माण गरिएको बताए । जसमा भुमिकास्थानमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापाको नेतृत्वमा संघर्ष समिति, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीको नेतृत्वमा सन्धिखर्क नगरपालिकामा संघर्ष समिति निर्माण गरिएको छ भने उपाध्यक्ष गोपाल पौडेलको नेतृत्वमा पाणिनी गाउँपालिकामा संघर्ष समिति चयन गरिएको छ ।
त्यस्तै जोख बहादुर सारुको संयोजकत्वमा सितगंगा नगरपालिकामा, भिमलाल आचार्यको नेतृत्वमा मालारानी गाउँपालिकामा, गंगाराम खनालको नेतृत्वमा छत्रदेब गाउँपालिकामा संघर्ष समिति चयन गरिएको छ । राष्ट्रिय जनमोर्चाले जिल्लाका विभिन्न स्थानमा माघ ९ गतेदेखि माघ २४ गतेसम्म सभा गर्नको लागी केन्द्र,प्रदेश र जिल्लाका नेताहरूलाई खटाउने जनमोर्चाले जनाएको छ ।