२०४१ साल फाल्गुण २८ गते बुवा माधव प्रशाद पन्थी र आमा कमल देवी पन्थीको जेष्ठ सुपुत्रको रुपमा अर्घाखाँचीको केरुङ्गामा जन्मिइ गुल्मीको चारपालामा रहेको इश्वरी मा.बि. बाट एस एल सी गर्नुभएको नवराज पन्थीले २०५९ मा संचारकर्मीको रुपमा पाल्पामा रहेको श्रीनगर एफ एम मा ३ बर्ष काम गर्नुभयो । ततपश्चात विभिन्न व्यवशाय गर्दै हाल सफल युवा होटल व्यवशायीको रुपमा आफुलाइ स्थापित गर्नुभएको छ । सैनामैनाको बर्माचोकमा रहेको होटल द केभ का संचालक नवराज पन्थी सैनामैनामा रहेको होटल व्यवशायीहरुको छाता सङ्गठन सैनामैना होटल व्यवशायी समितीको सचिव हुनुहुन्छ । उनै पन्थी सङ्ग अहिलेको होटल व्यवशायको अवस्था,होटल व्यवशायका सम्भावना र चुनौती तथा होटल व्यवशाय र पर्यटनको सम्बन्धको बिषयमा पावर संचारका संवाददाता सङ्ग गरिएको कुराकानीको अंश :
१) नवराज सर स्वागत छ पावर संचारमा…
– धन्यवाद सर ।
२) आजभोली हजुरको व्यवशाय कस्तो चलिरहेको छ ?
– सन्तोषजनक छ सर , खासगरी आजभोली देशकै अर्थतन्त्रको अवस्था नाजुक छ देशभरकै स्वदेशी लगानीकर्ता र व्यवशायीहरु पलायनको अवस्थामा छन यस्तो जटिल परिवेश र समयमा पनि म संलग्न होटल ठिकै चलेको छ म सन्तुष्ट छु ।
३) तपाइको होटल ‘ होटल द केभ ‘ मा ग्राहकहरुले अन्य होटलमा भन्दा फरक के पाउन सक्छन ?
– हाम्रो होटल सैनामैना वडा नं १ ब्रम्हाचोकमा पुर्व पश्चिम राजमार्गको छेउमा रहेको छ र यो एसि सहितका १६ वटा सुविधा सम्पन्न कोठा रहेका छन खासगरी ग्राहकको माग अनुसार नेपाली अर्गानिक खानालाइ हामीले बिशेष ध्यान दिएका छौँ । हाम्रो होटलमा स्वादिष्ट खाना, नास्ता सङ्गै सफा र आरामदायी बासको लागी सैनामैनामै अहिलेसम्म उत्कृष्ट मानिएको छ । हाम्रो होटलमा आउने ग्राहकको लागी ल्याउन र लैजानको लागी गाडीको समेत सुविधा रहेको छ ।
४) होटललाइ अझै सफल बनाउनको लागी तपाइको भावी योजना के के छन ?
– मैले विश्वमै उत्कृष्ट मानिएको इण्डोनेसियाको Hotel The Cave बाट प्रभावित भएर यो होटलको नाम राखेको हुँ र Cave भनेको गुफा हो र म पनि त्यसै अनुरुप यसको प्रवेश द्वारमा स्ट्क्चर निर्माण गर्दैछु जहाँ सुरुमा गुफा भित्र छिरेको अनुभुति गर्न सकियोस । २५० जना भन्दा बढि अट्ने ब्यङ्केट हल र स्विमिङ्ग पुलसहित यसको आधुनिकिकरण मेरो पहिलो योजना हो र त्यसमा लाग्दैछु ।
५) तपाइको अहिलेसम्मको लागत र भावी लागतको योजना के बनाउनुभएको छ ? यो तपाइ एक्लैको स्वामित्वमा छ वा अरु लगानीकर्ता पनि समावेश हुनुहुन्छ ?
– मैले यो होटललाइ यहाँसम्मल्याउन अहिलेसम्म भौतिक संरचना देखि होटल संचालनमा आउदासम्म करिव ५ करोड लगानी भएको र अब थप १ करोड ५० लाखको अनुमान गरेको छु र त्यसै अनुरुप अगाडी बढ्दैछु । यो होटल मेरो एकल लगानीमै संचालन गरिरहेको छु ।
६) तपाइ त सैनामैना होटल व्यवशायी समितीको महत्वपुर्ण सचिव पदमा हुनुहुन्छ समग्रमा सैनामैनाका होटल व्यवशायीको अवस्थाकस्तो पाउनुभएको छ ?
– खासगरी म पहिले पनि र पछि सैनामैना होटल व्यवशायी समितीको सचिव भए पश्चात यहाँका धेरै साथीहरु सङ्ग व्यवशायको बिषयमा छलफल र कुराकानी हुने गर्दछ । सैनामैनामा रिसोर्ट, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट गरी सानाठुला सयौँ व्यवशाय संचालनमा छन तर केही बाहेक धेरै साथीहरु त्यति सन्तुष्ट हुनुहुन्न, पहिलेको जस्तो राम्रो कारोवार छैन पहिलो कुरा त जनताको क्रय शक्तीमा ह्रास आइरहेको छ दोश्रो युवाहरु बिदेश पलायनताले गाउँ सहरहरु रित्तिन लागिसके तेस्रो कुरा अन्य व्यवशाय चौपट छन र त्यसको प्रत्यक्ष मार होटल व्यवशायमा पर्ने स्वभाविक छ । हुन त यो राष्ट्रिय स्तरकै समस्या हो त्यसको प्रभाव यहाँ पर्ने स्वभाविक नै हुन जान्छ ।
७) के भयो भने होटल व्यवशाय संचालनमा सहजता र सफलता मिल्छ ?
– होटल व्यवशाय संचालनमा सफलता पाउनको लागी पहिको कुरा पर्यटन आकर्षणका कार्यक्रम ल्याउनुपर्यो त्यसको लागी स्थानिय तथा प्रदेश र केन्द्र सरकारले पर्यटकिय क्षेत्रहरुको बिकाश प्रचार प्रसार र सम्बर्धनमा ध्यान दिनुपर्यो दोश्रो व्यवशाय गर्नको लागी बैङ्कहरुले सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्यो र राज्यले साना ठुला स्वदेशी लगानीकर्ताहरुको लगानीको सुरक्षाको ग्यारेन्टीलिनुपर्यो तर दुर्भाग्य ति कुनै कुराहरु यहाँ हुन सकिरहेको छैन ।
८) सैनामैनाको पर्यटनको सम्भावना कत्तिको देख्नुभएको छ र त्यसका आधारहरु के के हुन सक्छन जस्तो लाग्छ ?
– सहि प्रश्न गर्नुभयो , सैनामैना एउटा तराइको त्यस्तो महत्वपुर्ण स्थान हो जो प्रकृतिक, धार्मिक र सामरिक हिसावले अत्यन्तै महत्वपुर्ण मानिन्छ । प्राकृतिक हिसावले ३ तिर तराइको समथर बिशाल फाँटले घेरिएको छ भने उत्तरतिर महाभारत पर्बत जो पहाडी जिल्ला पाल्पा सङ्ग जोडिएको छ । धार्मिक हिसावले हेर्दा पश्चिम नेपालकै महत्वपुर्ण धार्मिक स्थल बोलबम धाम सैनामैनामै पर्ने गर्दछ जहाँ नेपालका बिभिन्न जिल्ला सङ्गै भारत बाट समेत भक्तजनहरु आउने गर्दछन । श्रावणको १ महिना त यो क्षेत्रमा अत्यन्तै भिडभाड नै लाग्ने गर्दछ त्यस्तै मलमला मन्दिर, राम मन्दिर, सैनामैनामै ऐतिहासिक भैरव मन्दिर, कोटिया माइ मन्दिर रहेका छन ।
त्यस्तै यहाँ ऐतिहासिक रानी कुवा, राजा कुवा, काली दह, हिलपार्क, जर्लैया सिमसार क्षेत्र लगायतका स्थानहरु छन । सामरिक हिसावले हेर्दा नेपालकै ठुलो पुर्व पश्चिम राजमार्ग सैनामैना हुँदै अगाडी बढेकोछ भने उत्तर दक्षिण जोड्ने ढोरपाटन सडक सैनामैनाको सालझण्डी बाट सुरु भएको छ । लुम्बिनी प्रवेश द्धार यसै क्षेत्रमा रहेकोले जहाँबाट लुम्बिनी आउने पर्यटकलाइ योजनाबद्ध तवरले सैनामैना सम्म आउने वातावरण शृजना गर्न सकिन्छ । यसरी हेर्दा यि सबै कुराहरुलाइ हेर्दा यिनिहरुको राम्रो उपयोग र अध्ययन गरेर त्यही अनुसारको योजना बनाएर अगाडी बढियो भने अवस्य होटल व्यवशायमा लाभ हुनेदेखिन्छ ।
९) अन्त्यमा केही भन्नु छ कि ?
– कुनै पनि व्यवशाय सफल हुनुको पछाडि स्वयम ब्यक्ति र संस्था सङ्गै राज्यको पनि महत्वपुर्ण भुमिका हुने गर्दछ र यसमा राज्यले बिशेष ध्यान दिनु जरुरी छ अर्को कुरा व्यवशाय भन्ने कुरा सधै एकनासको हुदैन यसमा उतावचढाव आइहाल्छन यस्ता उतावचढाव बाटव्यवशायी र लगानीकर्ताहरु हडबडाउनु हुदैन एकदिन छिट्टै नै अवस्य पनि देशको आर्थिक अवस्था सुदृढ हुनेछ र यो सङ्गै व्यवशायमा पनि सकारात्मक उर्जा सङ्गै सफलता प्राप्त हुनेछ ।
अन्त्यमा सम्पुर्णमा नजिक आउँदै बिजया दशमी,शुभ दिपावली र छट पर्व २०८१ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दै तपाइहरुको मिडिया पावर संचारको सफलताको कामना गर्दछु । धन्यवाद …