बुटवल, १८ असार ।
बुटवलको सडकमा वर्षौँदेखि चल्दै आएको ‘वैधानिक गुन्डागर्दी‘ र अवैध असुली धन्दालाई राज्यको शक्तिशाली प्रशासनिक बल रप्रहरीको कमाण्डले ध्वस्त पारिदिएको छ । पूर्वाधार विकास मन्त्रालयको नेतृत्व सम्हालेnलगत्तै जनचासो र कानुनी राज्यको पुनर्बहालीलाई प्राथमिकतामा राखेका मन्त्री सुनील लम्सालको कडा नीतिगत अडान र निर्देशनपछि यो अप्रेशन सम्भव भएको हो ।
मन्त्री लम्सालको विशेष अग्रसरतामा मन्त्रालय, जिल्ला प्रशासन कार्यालय रुपन्देही, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलको उच्च स्तरीय समन्वयमा सुरक्षा संयन्त्र परिचालित गरिएको थियो । सोही परिप्रेक्ष्यमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, डीएसपी निशान्त श्रीवास्तवले मन्त्रालयको निर्देशनलाई मैदानमा उतार्दै व्यावसायिकताका साथ कडा एक्सन लिएका छन् । डीएसपी श्रीवास्तवको प्रत्यक्ष कमाण्डमा खटिएको प्रहरी टोलीले सडकबाटै अवैध रकम असुलिरहेका ठेक्का कम्पनीका ३ जनाप्रतिनिधिलाई रङ्गेहात नियन्त्रणमा लिन सफल भएको छ।
कागजातमा निषेध, सडकमा दादागिरी
बुटवल उपमहानगरपालिका र ठेकेदार कम्पनीबीचको आय ठेक्का (नं. ०८/०८२/०८३) सम्झौता पत्रको बुँदा ११ (क) मा स्पष्ट भनिएकोछ— ‘बसपार्क भन्दा बाहिरको क्षेत्रबाट सेवा शुल्क वा कर उठाउन पाइने छैन।’ त्यस्तै बुँदा २७ ले ‘मूल सडकमा बसी सडक अवरोध गरीकुनै पनि शुल्क लिन पाइने छैन’ भनी पूर्ण प्रतिबन्ध लगाएको छ। तर ठेकेदारले नयाँ बसपार्कको गेट अगाडि, राजमार्ग चौराहा, पुरानोबसपार्क (नेपालगन्ज रोड), ट्राफिक चोक, गोलपार्क लगायतका ठाउँहरूमा बीच सडकमै गाडी थुनेर जबरजस्ती असुली गरिरहेका थिए।
लिखित सम्झौता र अदालतको आदेशको समेत धज्जी उडाएर स्थानीय पालिकाकै संरक्षणमा जस्तो देखिएको यो बेथितिमाथी मन्त्रालयले लामो समयदेखि सुक्ष्म निगरानी राखिरहेको थियो। अन्ततः मन्त्री सुनील लम्सालले “कानुनभन्दा माथि कोही हुन सक्दैन” भन्दै कडा कदम चालेपछि वर्षौँदेखिको यो संगठित असुलीको जालो तोडिएको छ ।
सडककै बीचमा गाडी रोक्दा चरम ट्राफिक अस्तव्यस्तता
ठेकेदारका प्रतिनिधिहरूले पैसा असुल्ने नाममा बुटवलका अति व्यस्त चोक र सडकको बीचमै गुडिरहेका सवारी साधनहरू अचानक रोक्ने गरेका थिए । यसरी सडककै बीचमा गाडी रोक्दा र जथाभाबी पार्किङ गराउँदा बुटवलको ट्राफिक व्यवस्थापन पूरै अस्तव्यस्त बन्नेगरेको थियो। मुख्य राजमार्ग र चोकहरूमा जतिबेला पनि जाम हुने, दुर्घटनाको जोखिम बढ्ने र सर्वसाधारणले ठूलो सास्ती भोग्नुपर्नेमुख्य कारण नै ठेकेदारको यो अवैध असुली र सडक मिचेर गरिने पार्किङ धन्दा बनेको थियो, जसले बुटवलको सहरी सुन्दरता र सडक सुरक्षामाथि नै गम्भीर प्रहार गरिरहेको थियो।
“संरक्षण गर्ने कोही उम्किँदैनन्“
मन्त्री लम्सालको कडा निर्देशन र जिल्ला प्रशासनको समन्वयलाई मैदानमा उतार्दै डीएसपी निशान्त श्रीवास्तवले यो अवैध धन्दाकोजालो तोडिदिएका छन् । पक्राउ परेकाहरू माथी हिरासतमा राखेर विस्तृत छानबिन एवम अनुसन्धान सुरु गरिएको छ,।
सडकमा कानुनी व्यवस्था चुस्त राख्न परिपक्व ढंगले उभिएका डीएसपी निशान्त श्रीवास्तवले स्पष्ट चेतावनी दिँदै भनेका छन्:
“बसपार्क बाहिरका सार्वजनिक सडकबाट कुन हैसियतमा रकम उठाइयो, यसको सुक्ष्म अनुसन्धान सुरु भइसकेको छ । सडकमा खटिने कारिन्दा मात्र होइन, यो गैरकानुनी असुलीको जग कहाँ छ, को–को मिलेमतोमा छन् र क–कस्को संरक्षणमा यो धन्दा चलिरहेको थियो, ती सबैको पहिचान गरेर कडा कानुनी कारबाही गरिन्छ।” अनुसन्धान अगाडि बढेको छ ।
मन्त्रालयको दह्रो अडान, नागरिकलाई राहत
यो कारबाही राज्यका संयन्त्रहरू चल्ने हो भने कसरी बेथिति अन्त्य हुन्छ भन्ने एउटा उत्कृष्ट उदाहरण बनेको छ। मन्त्री सुनील लम्सालको दह्रो नीतिगत अडान र डीएसपी श्रीवास्तवको सिंहदरबार झल्किने स्थलगत एक्सनको यो सन्तुलित जुगलबन्दीले बुटवलका यातायात व्यवसायी, मजदुर र आम नागरिकलाई वर्षौँ पछिको ठूलो राहत दिएको छ। यस एक्सनले कानुन मिच्ने ठेकेदार र आफ्नै सम्झौता कार्यान्वयनमा मौन बस्ने बुटवल उपमहानगरपालिकाका अधिकारीहरूमाझ भने ठूलो भुइँचालो ल्याइदिएको छ।

