बुटवल, असार ९ – सुरक्षित, सहज र मर्यादित यात्राको प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा ट्राफिक सचेतना कार्यक्रम तथा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सुरक्षित यात्रा नेपाल, केन्द्रीय कार्यालय बुटवलको आयोजनामा असार ९ गते (आज) बुटवल–६ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रम नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलको समन्वय र बुटवल उपमहानगरपालिका – वडा नं ६ को सहकार्यमा सम्पन्न भएको सुरक्षित यात्रा नेपाल, केन्द्रीय कार्यालय बुटवलका अध्यक्ष कृष्ण प्रशाद बेल्वासेले बताए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक नियमको पालना, सवारी दुर्घटनाका प्रमुख कारण तथा दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराइएको थियो । साथै, सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रियात्मक छलफल समेत गरिएको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षिका, विद्यार्थी, जनप्रतिनिधि, ट्राफिक प्रहरीका लुम्बिनी प्रदेश प्रमुख एवम प्रतिनिधि तथा आयोजक संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो । वक्ताहरूले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पूर्ण पालना, जिम्मेवार सवारी सञ्चालन र सचेत नागरिकको भूमिका बारे प्रकाश पारेका थिए ।
कार्यक्रममा विशेष गरि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख निशान थापा र ट्राफिक प्रहरी वरिष्ठ नायव निरिक्षक ज्ञानु पाण्डेले ट्राफिक सचेतना तथा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी सहभागीहरुलाई प्रशिक्षित गरेका थिए ।
प्रकाश कुमार नेपालको संचालनमा सम्पन्न कार्यक्रममा सुरक्षित यात्रा नेपाल, केन्द्रीय कार्यालय बुटवलका अध्यक्ष कृष्ण प्रशाद बेल्वासेको अध्यक्षता, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख (प्रहरी उपरीक्षक) निशान थापाको प्रमुख आतिथ्यता, बुटवल उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष लोकनाथ न्यौपानेको विशेष आतिथ्यता रहेको थियो भने स्वागत मन्तव्य दीपक ढकालको रहेको थियो ।
१३ बर्ष अगाडि २०७१ सालमा स्थापना भएको सुरक्षित यात्रा नेपालले सडक दुर्घटनाबाट हुने क्षति कम गर्न र मर्यादित यात्राको लागि विगत देखि अभियान संचालन गर्दै आइरहेको र आगामी दिनमा यस्ता जनचेतनामूलक तथा सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिइने समेत आयोजकले बताएको छ

