अनिल खत्री
२३ असोज, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले पालिका स्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा रेसुङ्गा नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्था प्रमुखहरूले आर्थिक वर्ष २०८१/०८२ मा पुर्याएको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
समिक्षा कार्यक्रममा स्वास्थ्य सेवाको सुधार, सेवा प्रवाहमा देखिएका चुनौतीहरू, आगामी कार्ययोजना, र आवश्यक सुधारका पक्षमा छलफल गरिएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मञ्जु घर्तिले बताइन । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
सहभागीहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा समन्वय र सुधारका लागि यस्ता समिक्षा कार्यक्रम महत्वपूर्ण हुने बताएका छन् । स्वास्थ्य शाखाका प्रमुखले कार्यक्रममार्फत प्राप्त सुझावहरू आगामी योजना निर्माणमा समेटिने घर्तिले बताइन ।
आगामी वर्षमा सेवा विस्तार, स्रोत साधनको परिचालन, र जनचेतनामूलक कार्यक्रमहरूमा अझ बढी प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । रेसुङ्गा नगरपालिकाले प्रत्येक वर्ष स्वास्थ्य क्षेत्रको समिक्षा कार्यक्रम गर्दै आइरहेको छ । यसले सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व बढाउन सहयोग पुगेको बताइएको छ ।

