काभ्रे । आफ्नै प्रेमिकाको हत्या गरी शव जंगलमा फालेको आरोपमा एक युवक पक्राउ परेका छन् । ३७ वर्षीय सन्तोष सुनारलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले घटनामा संलग्न भएको आरोपमा पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
बनेपा नगरपालिका–१३ भगवान थुम्की स्थित सामुदायिक वन क्षेत्रको चिलाउने रुखको फेदमा एक महिलाको शव फेला परेको थियो । जसको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गरेको थियो ।
प्रारम्भिक अनुसन्धानमा शव चौरीदेउराली गाउँपालिका–१ डाँडाखर्ककी ३३ वर्षीया शर्मिला उप्रेतीको रहेको खुलेको छ । उनी हाल बनेपा–९ नयाँबस्तीमा बसोबास गर्दै आएकी थिइन ।
अनुसन्धानको क्रममा काभ्रे प्रहरीले रामेछापको मन्थली नगरपालिका–१३ निवासी सन्तोष सुनारलाई बनेपा–१० स्थित एक इँट्टाभट्टामा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मृतक शर्मिला र अभियुक्त सन्तोष बिच प्रेम सम्बन्ध थियो । सोही सम्बन्धकै कारण आपसी विवाद उत्पन्न भई हत्या भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक प्रमाण संकलनको प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

