जल तथा मौसम विज्ञान विभागले आइतबार देशका अधिकांश भागमा मेघगर्जन/चट्याङ सहित हल्का देखि भारी वर्षा हुने पूर्वानुमान जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानहरूमा अत्यधिक वर्षा हुने सम्भावना समेत रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
दिउँसो लुम्बिनी, गण्डकी, कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही भू–भागमा भारी देखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।
लुम्बिनी प्रदेशमा भू–स्खलन र बाढीको जोखिम विशेषगरी उच्च रहेको र सम्भावित जोखिमयुक्त क्षेत्रहरूमा सतर्कता अपनाउन भनिएको छ ।“लुम्बिनी प्रदेशका केही स्थानहरूमा अति भारी वर्षा हुने सम्भावना छ, जसले गर्दा भू–स्खलन र बाढीको जोखिम थपिएको छ।” जल तथा मौसम विज्ञान विभागले भनेको छ ।
राति पनि अधिकांश प्रदेशमा वर्षा जारी रहने पूर्वानुमान गरिएको छ । विभागले बाढी, पहिरो र सडक यातायात अवरुद्ध हुनसक्ने भन्दै नदी किनार, पहाडी क्षेत्र र जोखिमयुक्त स्थानमा सचेत रहन आग्रह गरेको छ ।


