अनिल खत्री
१२ असार, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–१ ले परम्परागत पशुपालनलाई प्रोत्साहन गर्न गोरु पालक कृषकहरूलाई सम्मान गरेको छ । वडाले आयोजना गरेको एक विशेष कार्यक्रममा ३७ जना गोरु पालक कृषकलाई सम्मानपत्र सहित सम्मान गरिएको हो।
वडा कार्यालयमा आयोजित उक्त कार्यक्रममा इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का र वडानम्बर– १ का वडाध्यक्ष शेरबहादुर कुँवरले कृषकहरूलाई सम्मान गरेका थिए।
कृषकहरूलाई सम्मान गर्दै अध्यक्ष खड्काले स्थानीय स्तरमै मेहनत गर्ने कृषकहरू राष्ट्रको मेरुदण्ड भएको बताए । उनले परम्परागत गोरु जोत्ने प्रणाली आज पनि ग्रामीण जीवनको अभिन्न हिस्सा रहेको उल्लेख गर्दै त्यसको संरक्षण र सम्मान आवश्यक रहेको धारणा राखे ।
वडाध्यक्ष कुँवरले गाउँको कृषि प्रणाली जगेर्ना गर्न गोरु पालकहरूलाई सम्मान गरिएको बताए । उनका अनुसार आगामी दिनमा पनि परम्परागत कृषि प्रणालीमा आधारित कृषकहरूको पहिचान र योगदानलाई मूल्यांकन गर्दै थप कार्यक्रम ल्याइनेछ।
कार्यक्रममा कृषकहरूले सम्मान पाउँदा उत्साह महसुस गरेको बताएका थिए । ग्रामीण भेगमा गोरु पालेर कृषि पेसालाई निरन्तरता दिँदै आएका यस्ता कृषकको योगदानलाई सम्मान गर्न गरिएको यो पहलले उनिहरुको काममा उत्साह थप्ने काम वडाले गरेको छ ।

