अनिल नेपाली
अर्घाखाँचीको शितगंगा नगरपालिकाले सहकारी मार्फत कृषि उत्पादनमा जोड दिने भएको छ । नगरपालिकाले कृषि तथा पशुपन्छीमा लगाउँदै आएको कर खारेज गरी किसानलाई राहत दिने गरी नीति तथा कार्यक्रम कार्यक्रम सार्वजनिक गरेको हो ।
नगरपालिकाले शिक्षा क्षेत्रलाई पनि मुख्य प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले जानकारी दिए ।
गत वर्ष नगरसभामा शितगंगा नगरपालिकाका छबिलाल पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएका थिए ।
शितगंगा नगरपालिकालाई स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बस्न योग्य हरियाली सहर बनाउने मुख्य उद्देश्य सहित नीति तथा कार्यक्रममा नगरपालिकाले योजना बनाएर लागेको नगरपालिकाका प्रमुख छबिलाल पौडेलले नगरसभामा प्रतिबद्धता व्यक्त गरेका थिए ।
नीति तथा कार्यक्रम मार्फत शितगंगाले शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारको क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, उद्योग, व्यापार जस्ता क्षेत्रको समुन्नतिमा जोड दिने मूल रणनीतिको रुपमा अगाडि सारेको छ ।
आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने गरी अहिले काम भैरहेको नगरप्रमुख छबिलाल पौडेलले बताए । उनका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिँदै पशुपन्छीमा लगाउँदै आएको निकासी कर हटाउने निर्णयलाई प्राथमिकतामा राखिएको छ ।
उनले शितगंगालाई शिक्षा,स्वास्थ्यमा अब्बल नगरपालिका बनाउँदै सीप तथा रोजगारका क्षेत्रमा पर्याप्त अवसर सिर्जना हुने गरी बजेट निर्माण गर्ने बताए । शितगंगालाई समृद्ध बनाउनका लागि शितगंगा नगरपालिकाको एक्लो प्रयासले मात्रै सम्भव नहुने नगर उपप्रमुख गिता भाटले बताइन् ।

