गल्ति दोहोर्याए ठेक्का तोड्ने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको ठेकेदारहरुलाई चेतावनी ।
बुटवल, २१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा रुपन्देहीले रुपन्देहीका तिनाउ, दानव लगायत नदीहरुमा मापदण्ड विपरित जथाभावी उत्खननन् तथा ढुंगा गिटीको चोरी भइरहेको भन्दै तत्काल रोक्न माग गरेका छन् ।
रास्वपाले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउंदै अधिकांश खोलाहरुमा अनियन्त्रित रुपमा मापदण्ड विपरित अवैधदोहन गरी नदीजन्य पदार्थ चोरी निकासी भइरहेको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टी जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्मा नेतृत्वको टोलीले प्रजिअ बासुदेव घिमिरेलाई बुझाएको ज्ञापनपत्रमा स्थानीय तह र ठेकेदार लगायत सम्बन्धित पक्षको कहीं न कहीं मिलेमतो तथा सेटिङमा मापदण्ड विपरित गहिरो खनेर खोलाबाट ढुंगा गिटी निकाल्दा त्यहां खाल्डामा डुबेर हरेक वर्ष मानवीय क्षति समेत हुने गरेको उल्लेख छ ।
‘केही दिन यता बुटवल, सैनामैना, देवदह, सियारी, शुद्धोधन, तिलोत्तमा, मायादेवी, गैडहवा, रोहिणी, कञ्चन लगायतका पालिकाहरुमा पर्ने तिनाउ दानव, चरंगे खोला, घोडाहा खोला, कर्साघाट, कञ्चन खोला, रोहिणी लगायतका खोलाहरुमा अनियन्त्रित रुपमा, मापदण्ड विपरित अवैध दोहन गरी नदीजन्य पदार्थ चोरी निकासी भइरहेको र मापदण्ड बमोजिम घाटगद्दी नगरी सिधै क्रेसर उद्योगमा ढुवानी भइरहेको कार्यप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ’–विज्ञप्तिमा भनिएको छ ।’
‘स्थानीय तह लगायत सम्बन्धित पक्षको कहि नकहीं मिलेमतो र सेटिङ्गमा मापदण्ड विपरित राष्ट्रिय गौरवका आयोजनाको नाममा होस् वा अन्य कनै नाममा होस् खोला तथा नदीमा मापदण्ड मिचेर गरिने मनपरी उत्खनन्का कारण खाल्डामा डुबेर हरेक वर्ष मानवीय क्षति हुने गरेको छ, तसर्थ नियम विपरीत घाटगट्टी गर्ने, चोरी, निकासी गर्ने जस्ता कार्य तत्काल बन्द गराउन हामी जोडदार माग गर्दछौं ।’
प्राकृतिक स्रोत र साधनको दोहनमा मापदण्ड विपरित प्रयोग गरिएका साधनहरु खोलाबाट तत्कान हटाउन र चोरी निकासी गर्नेलाई शख्त कारवाही गर्न रास्वपाले माग गरेको छ ।
रास्वपाले उत्खननको नियमित अनुगमन गर्न पत्रकार र विज्ञ समुह सहितको संयन्त्रको माग गर्दै जिल्ला भित्रको प्राकृतिक श्रोत साधनको उपभोग गर्न पाउने नागरिकको अधिकारलाई समेत मध्यनजर गरी सर्वसाधारणलाई सहज रुपमा नदीजन्य पदार्थ उपलब्ध हुने व्यवस्था मिलाउन समेत माग गरेको छ ।

यसैगरी राष्ट्रिय जनमोर्चाले बुधबार नै प्रेस विज्ञप्ति जारी गर्दै रुपन्देहीमा नदीजन्य पदार्थको अबैध उत्खनन् र ओसारपसार रोक्न मागगरेको छ । पार्टीका रुपन्देही अध्यक्ष टानबहादुर खत्रीले जारी गरेको विज्ञप्तीमा रुपन्देहीका विभिन्न नदी तथा खोलाहरुबाट मापदण्ड विपरित भैरहेको नदीजन्य पदार्थको उत्खनन, दोहन र चोरी निकासी प्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख छ ।
नदीजन्य पदार्थको उत्खनन्, दोहन नियम विपरित तोकिएको ठाँउ भन्दा अन्यत्र घाटगद्दी गर्ने वा सिधै क्रसर उद्योगमा लगेर बिक्रि हुनु गलत भएको भन्दै अनियन्त्रित रमापदण्ड विपरित उत्खनन्ले बाढी–पहिरोजन्य प्राकृतिक प्रकोप र मानवीय वस्तिहरु डुबानमा पर्ने सम्भावनाका कारण यस्ता गलत काम तत्काल बन्द गर्न माग गरिएको छ ।
नियम विपरित घाटगद्दि गर्ने,ओसार पसार गर्ने र अवैध निकासी गर्ने कार्यलाई बन्द गर्न प्रभावकारी कदम चाल्न र उक्त अवैध धन्दामा संलग्न व्यक्ति वा संस्थालाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ । अन्यथा त्यसबाट हुनेदुष्परिणको जिम्मेवार सरोकारवालाले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

नागरिकको जनजीवन कष्टकर बन्दै गैरहेको भन्दै राष्ट्रियजनमोर्चाले सुशासनको प्रत्याभूति दिन, हरेक क्षेत्रमा रहेका बेथिति, विसंगति, महंगी र कुशासनको अन्त्य गर्न तुरुन्त प्रभावकारी कदम चाल्न समेत माग गरेको छ ।
यसअघि समाजवादी मोर्चामा आवद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि जथाभावी उत्खनन् र चोरी निकासी रोक्न माग गरेका थिए ।
गल्ति दोहोर्याए ठेक्का तोडिन्छः सिडिओ
यसैबीच रुपन्देहीका तिनाउ नदीका विभिन्न ठाउंमा ठेकेदारले मापदण्ड विपरित गहिरो खनेको भेटिए पछि गल्ति दोहोर्याए प्रमुख जिल्ला अधिकारीले ठेक्का तोड्ने चेतावनी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी घिमिरे नेतृत्वको टोलीले बुटवल उपमहानगरपालिकाले ठेक्का लगाएको मगरघाट पुलको दक्षिणतर्फ ठेकेदारले अनुमति पाएको भन्दा गहिरो खनेर ढुंगा गिटी निकालेको पाइएपछि उपमहानगरका कर्मचारी र ठेकेदारलाई राखेर गल्ति दोहोर्याए ठेक्का तोड्ने सम्मको कारवाही हुने चेतावनी दिएका हुन् । सिडिओ घिमिरेले आईईई प्रतिवेदन विपरित जथाभावी उत्खनन् हुंदा पनि बुटवल उपमहानगरले नियन्त्रण नगरेको बताएका छन् ।
‘आईईई विपरित उत्खनन् हुने र अनुगमन नगर्ने हो भने किन आईईई गरेको त ?’– उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीलाई प्रश्न गर्दै सिडिओले भने–‘यस्ता गल्ती फेरि दोहोरिए ठेक्का तोड्ने सम्मको कारवाही हुनसक्छ ।’
मगरघाट पुल माथि बुद्धनगर क्षेत्रमा भएको अर्को ठेक्काको उत्खनन् स्थलमा पनि मापदण्ड विपरित गहिरो खनिएको, अनिवार्य रुपमा प्राविधिक खटाएर निगरानी गर्नुपर्ने र घाटगद्दी स्थलमा ठेकेदारको प्रतिनिधि हुनुपर्नेमा त्यो नपाइएको जिल्ला समन्वय समिति संयोजक उमाकान्त चापागाईले बताए ।
उत्खनन् स्थलमा प्राविधिक नखटाइंदा जथाभावी ढुंगा गिटी निकाल्ने काम हुंदा छेउको वस्ती र पुलहरु जोखिममा पर्ने खतरा रहेको चापागाइले सचेत गराए ।
‘बुटवल उपमहानगरले ठेक्का लगाएको मगरघाट पुल उत्तर र दक्षिण दुबै तर्फ स्वीकृत मापदण्ड विपरित उत्खनन् भइरहेको छ, यो नरोके कारवाही हुन्छ’–चापागाईले भने–‘राज्यको सम्पतिको संरक्षणमा स्थानीय नागरिकको पनि निगरानी हुनुपर्छ ।’
यसअघि तिलोत्तमा ६ गोरकट्टामा ठेकेदारले पालिकाले तोकेको स्थानमा घाटगद्दी गर्नुपर्ने ढुंगागिटी सिधै क्रेसर उद्योगमा लैजाने गरेकोपाइएपछि तिलोत्तमा–६ गोरकट्टास्थित कश्यप नमूना रोडा उद्योगलाई सोमबार प्रशासनले ढुंगा गिटी विक्रि नगर्न निर्देशन दिएको थियो तर उद्योगले प्रशासनको निर्देशन अटेर गरी विक्रि नरोकेको स्थानीय बताउंछन् ।
गत वर्ष तत्कालीन प्रजिअ गणेश अर्यालले प्रत्येक उत्खनन् र घाटगद्दी स्थलमा २ जना जनपद,२ जना सशष्त्र र एक जना नगर प्रहरी गरी ५ जनाको सुरक्षाकर्मीको टोलीले नियमित गस्ती गरेकाले मापदण्ड विपरित अवैध उत्खनन् र चोरी निकासी नियन्त्रण भएको थियो । तर यस वर्ष स्थानीयले दवाव दिएपछि मात्रै अनुगमन हुने अन्यथा जिल्ला प्रशासन र जिल्ला समन्वय समितिले स्वतस्फुर्त नियमित अनुगमन नगरेकाले जथाभावी दोहन र चोरी निकासी अत्यधीक भएको स्थानीय बासिन्दाको गुनासो छ ।
खोलाहरुमा मनपरी दोहन र उत्खनन् रोक्न अख्तियार अनुसन्धान आयोगको भूमिका बढाउनेदेखि उत्खनन् र ढुवानीका मापदण्डहरु परिवर्तन र सर्वपक्षीय स्वतन्त्र निकायबाट नियमित अनुगमन हुनुपर्ने उनको सुझाव छ ।
तिलोत्तमाका एक स्वतन्त्र युवाले खोलाको ठेक्का पाउने व्यक्ति पनि राजनीतिक दलको कार्यकर्ता र चन्दादाता, जिल्ला समन्वय समिति, मेयर, उपमेयर र वडाध्यक्ष पनि राजनीतिक दलकै मान्छे हुंदा निष्पक्ष अनुगमन हुन नसकेको बरु राजनीतिक संरक्षणमा आंखा चिम्लेर ठेकेदारलाई मनपरी गर्न छुट दिइएको बताउंछन् । ‘मेयर, वडाध्यक्षहरुलाई चुनावमा लाखौं चन्दा दिनेहरु नै ठेकेदार छन्, उनीहरुले नै खोलाको ठेक्का पाउने गरेका छन्,अनि नाम मात्रैको अनुगमन देखाएर आंखा चिम्लेर गर्न छुट दिइएको छ।’
वातावरण क्षेत्रका जानकार युवराज कंडेलले नदीहरुमा मापदण्ड विपरित हुने उत्खनन्ले मानवीय क्षतिसंगै दीर्घकालीन् वातावरणीय असर पर्ने विषय ओझेलमा पर्ने गरेको बताउंछन् । ‘ठेकेदारले ढुंगा गिटी चोरी निकासी गरेको विषय एउटा पाटो हो,तर वर्षेनी हुने मानवीय क्षति र दीर्घकालीन् वातावरणीय प्रभाव धेरै संवेदनशील पक्ष हो ।’ खोलामा मेशिनरी प्रयोगले जथाभावी उत्खनन् गर्दा यसले पानीकास्रोत सुक्ने, प्राकृतिक विपत्ती आउने देखि अनेक खालका दीर्घकालीन समस्या निम्ताउने कंडेलले औंल्याए ।
पालिकाले उत्खनन् गर्दाअपनाउनुपर्ने शर्तमा सकेसम्म मानवीय जनशक्ति र घरेलु औजारले उत्खनन् गर्नुपर्ने उल्लेख गरेपनि ठेकेदारले हेभी इक्युपमेन्ट प्रयोग गरेरढुंगा गिटी निकाल्ने गरेका छन् । उनीहरुले पालिकाले अनुमति दिए भन्दा धेरै मेशिन प्रयोग गरेर खोला उत्खनन् गर्दा त्यसले भविष्यमा पार्ने असर बारे सरोकारवाला निकायले बेवास्ता गर्नु विडम्बना भएको कंडेलले बताए ।

