तिलक महत – (पावर संचार संवाददाता)
बुटवल । गुल्मी इस्माबाट बसाइँसराइ गरी रुपन्देहीमा छरिएर रहेका इस्मालीहरुको साझा संस्था इस्माली समाज रुपन्देहीको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।
सयौं संख्यामा उपस्थित उक्त साधारणसभाको उद्घाटन पूर्व उर्जामन्त्री एवं सोही क्षेत्रका सांसद गोकर्ण विष्टले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै विष्टले गुल्मीको शक्तिशाली साझा सङ्गठन कुनै राजनीतिक मञ्च नभई निःस्वार्थ रुपमा सामाजिक कार्यमा सहयोगी भएर जान सबैलाई आग्रह गरे ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै आफू पटकपटक जनप्रतिनिधि हुँदा सडक शिक्षा, खानेपानी, स्वास्थ्य लगायतका विकासमा नमूना बजेट पारेको र आगामी बजेटमा पनि धेरै परियोजनाहरुमा बढीभन्दा बढी बजेट पार्ने प्रतिबद्धता गरेका छन् ।
कार्यक्रमका विशिष्ट अतिथि इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले आफू निर्वाचित क्षेत्रका इस्मालीहरुसँग भेटघाट हुँदा खुसी व्यक्त गर्दै आगामी बजेट तर्जुमा गर्दा बौद्धिक व्यक्तित्वहरुको सहयोग पाउनुपर्ने बताए । गाउँ टोलहरुमा सडक सञ्जालको पहुँच बढ्दै गएको, खानेपानी एक घर एक धारा, स्वास्थ्य शिक्षालगायतको सुविधाहरु भए पनि बसाइँसराइको कारण गाउँमा जनसंख्याको घट्दो क्रमले आफू चिन्तित भएको जनाए ।
कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीकीसदस्य सुनिता जिसीले संगठित इस्मालीहरुको साझा संस्था राजनीतिक रंग देखाउन नहुने भन्दै साझा संस्थामा साझा काम गर्ने सुझाव दिइन् ।
वडा नं. १ का पूर्व अध्यक्ष एवम् समाजका आजीवन सदस्य सामाजिक व्यक्तित्व चुराबहादुर खत्रीले विकासको कार्यमा अन्यत्र भन्दा इस्मा केही कमजोरी भएको र यसलाई न्यूनीकरण गर्न निर्वाचन क्षेत्रका सभासद, पालिका अध्यक्ष लगायतको ध्यानाकर्षण गराए ।

सम्बोधनकै क्रममा समाजका आजीवन सदस्य एवम् इस्मा २ का वडा अध्यक्ष झविन्द्र अर्यालले हरेक वडामा बसाइँसराइको व्यापाक असर परेको उदाहरण दिँदै आफ्नो वडामा ६ सय घरधुरी रहेकोमा हालै मात्र नयाँ गणना गर्दा २ सय ३० घरधुरी पलायन भएको बताए । उनले विकास निर्माणमा राजनीतिक प्रतिशोध नलिई समान व्यवहार आवश्यक भएको बताउँदै सम्पूर्ण इस्मालीहरुको व्यापक समृद्धिको कामना गरे । सोही कार्यक्रममा वडा नं. ३ का पूर्व वडाध्यक्ष तोयनाथ सापकोटाले सम्पूर्ण इस्माली समाजसँग सहकार्य गर्ने प्रतिबद्धताव्यक्त गरे ।
उक्त कार्यक्रममा इस्माली समाजका संस्थापक अध्यक्ष बाबुराम गौतमले केही सामाजिक व्यक्तिहरुको अगुवाइमा जन्म भएको संगठन हाल आउँदा प्रत्येक इस्मालीको घरघर संगठित भएको बताउँदै यसले इस्माली लगायत सम्पूर्ण अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई सामाजिक, आर्थिक सहयोग गर्दै आएको इतिहास बताउँदै संस्थामा थप सहयोग गर्न आग्रह गरे ।
समाजका अध्यक्ष कृष्णबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा उनले वार्षिक प्रगति विवरण पेश गर्दै सम्पूर्ण आजीवन सदस्य,साधारण सदस्यहरुलाई इस्माली एकताको व्यापक चर्चा गर्दै धन्यवाद दिए ।
कार्यक्रममा अध्यक्ष जिसीकी धर्मपत्नी कमला जिसीको जन्म दिनको उपलक्ष्यमा वृद्धाहरुलाई आर्थिक सहयोग साथै कोसेली प्रदानगरेका थिए । कार्यक्रमको प्रमुख अतिथि, विशिष्ट अतिथि, समाजका पूर्व अध्यक्ष, हालका अध्यक्ष जिसी उनकी धर्मपत्नी लगायतले अग्रजहरुलाई सम्मान गरेका थिए । कार्यक्रम सह–सचिव पदम जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
जि सी द्वारा बृद्ध बृद्धालाई कोसेली उपहार
इस्माली समाज रुपन्देहीको अध्यक्ष एवम सफल व्यावसायी कृष्ण जि सी को धर्मपत्नी कमला जि सी ले आफ्नो जन्मदिनको अवसरमा समाजको दोश्रो साधारण सभामा उपस्थित ३७ जना बृद्धा बृद्धहरुलाई नगद तथा कोसेली उपहार प्रदान गरेकी छन ।

उनले इस्माली समाज रुपन्देहीको दोस्रो साधारणसभामा उपस्थिति सयौँको उपस्थितिको बिच उक्त नगद तथा कोसेली प्रदान गरेकी हुन । कोसेली हस्तान्तरण कार्यक्रममा जिसीले इस्माली बुवा आमाहरुलाइ चेलीको तर्फबाट सानो उपहार प्रदान गरेको बताइन ।
एक कार्यक्रमको बिच गुल्मी २ का प्रतिनिधि सभा सदस्य गोकर्ण बिष्ट र इश्मा गाउँपालिका अध्यक्ष भागवत सिंह खड्का लगायतले उक्त कोसेली हस्तान्तरण गरेका हुन ।

