प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, सन्धिखर्कको आयोजनामा मालारानी गाउँपालिकामा कृषि क्षेत्रका समस्या पहिचान तथा समाधानमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सरोकारवालाहरूले स्थानिय आवश्यकता, वातावरण, र कृषकको पहुँचका आधारमा योजना तय गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले मन्तब्य राख्दै कृषि कार्यक्रमलाई स्थानीय स्तरमै समन्वय गरेर अगाडि बढाउनु पर्नेमा जोड दिदै कृषकलाई सेवा लिन जिल्लासम्म धाइरहनु नपर्ने गरी स्थानीय सरकारले उपलब्ध गराउने बताउदै कागजी प्रक्रिया सरल बनाउनु आजको आवश्यकता भएको बताए ।
उनले पालिकाभित्र रहेका बाख्रा, कफी र सुन्तला जोनहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके आम कृषक लाभान्वित हुने बताउँदै, अनुदानमा मात्रै निर्भर नहुन पनि कृषकलाई आग्रह गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले मन्तब्य राख्दै कृषकका वास्तविक आवश्यकताका आधारमा योजना बनाइनुपर्नेमा जोड दिए । उनले योजना दोहोऱिन नदिन अनुदान प्रक्रिया स्पष्ट पार्न आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू कार्यापालिका सदस्य पत्रकार तथा कृषक सरोकारवालाहरूले बाख्रा, कफी र सुन्तला जोन कार्यक्रमलाई आवश्यकता अनुसार परिमार्जन गरी प्रभावकारी समन्वयका साथ कार्यान्वयन गर्न सुझाव दिएका थिए ।
जिल्लामा सञ्चालनमा रहेका तरकारी, बाख्रा, कफी र सुन्तला जोन कार्यक्रमबारे सहभागी जनप्रति स्थानीय तहको सक्रिय समन्वय, आवश्यकता अनुरूपको योजना तथा कृषकको पहुँचमा आधारित सेवा प्रणालीले मात्रै कृषि आधुनिकीकरणको लक्ष्य हासिल गर्न सकिने कार्यक्रममा सहभागीहरूको निष्कर्ष रहेको छ।
कार्यक्रममा जिल्लाको कृषि क्षेत्रको बारेमा परियोजना प्रमुख बिष्णु मगराती, मालारानी गाउँपालिका कृषि शाखा प्रमुख बिमल केसी,पशु विकास शाखा प्रमुख डा.सोनिया न्यौपाने अनुशिक्षण दिएका थिए । कार्यक्रम परियोजनाका कमप्युटर अपरेटर मनोज खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

