११ माघ, बुटवल । बुटवल–पाल्पा सडक अन्तर्गत सिद्धार्थ राजमार्गमा निर्माणाधीन १ हजार १ सय २६ मिटर लामो सिद्धबाबा सुरुङमार्ग आयोजना अन्तर्गत मुख्य सुरुङ ‘ब्रेक थ्रु’ आज (माघ ११) गते हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम छ । मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, पुर्व मन्त्री गुल्मी २ का प्रतिनिधिसभा सदस्य गोकर्ण बिष्ट, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत उपस्थित हुने कार्यक्रम छ ।
आयोजनाका बाइपास सुरुङ तीन वटा छन् । ती बाइपास सुरुङ यसअघि नै ब्रेक थ्रु भइसकेका छन् । यो आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ ।
पछिल्लो एक वर्षमा सुरुङमार्ग आयोजनाको कामले गति लिएको छ । बुटवललाई तानसेन,पोखरा लगायत पश्चिम नेपालका विभिन्न गन्तब्यसँग जोड्ने सिद्धार्थ राजमार्गमा सुरुङ निर्माणको काम सम्पन्न भएपछि पहिरोको जोखिम हट्ने र आवागमन सहज हुने अपेक्षा गरिएको छ । यो आयोजना ७ अर्ब ३४ करोड रुपैयाँ लागतमा बनिरहेको छ ।
आजै प्रधानमन्त्रीको बुटवल गोरुसिङ्गे सडकको समेत सिल्यन्यास कार्यक्रम रहेको छ । कार्यक्रम बुटवलको जितगढिमा दिउँसो हुने बताइएको छ ।

