अर्जुन थापा
अर्घाखाँची – अर्घाखाँची जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा सजाय तोकिएर फरार रहेका प्रतिवादीलाई अर्घाखाँची प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागि अर्घाखाँची जिल्ला अदालतमा पठाएको छ।
अदालतको आदेशानुसार उक्त प्रतिवादीलाई कारागार कार्यालय अर्घाखाँचीमा पठाइने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिको नाम केशव खनाल हो, जसले आफ्नो खेतमा करेन्ट लगाएको तार छाडेका थिए । यस कारणले अरिङ्गाल पोल्न जाने क्रममा, गुल्मी जिल्ला, मुसिकोट नगरपालिका वडा नं. ३ का २६ वर्षीय विमल महतलाई करेन्ट लागेर गम्भीर चोट लागेको थियो, र उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
उक्त घटनामा अर्घाखाँची जिल्ला अदालतले केशव खनाललाई तीन वर्ष कैद र रु. ३०,००० जरिवाना तोकेको थियो । उक्त निर्णयसँग असहमत रही, केशवले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पुनरावेदन दायर गरे । तर, उच्च अदालतले पनि अर्घाखाँची जिल्ला अदालतको फैसलालाई मञ्जुरी गर्दै कैदको सजाय कायम राखेको र थप कारबाही अघि बडाएको प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेलले जानकारी गराएका छन् ।

