नेपाली हिन्दु नारीहरुको महान पर्व तिज ! हराउँदै पुरानो मौलिकता

खिम खड्का,

नेपाली हिन्दु महिलाहरुको महत्वपुर्ण चाड हो तिज । तिजको बारेमा हिन्दु धर्मग्रन्थहरुमा अनेक व्याख्या र मान्यताहरु रहेको भए ता पनि सामाजिक र सांस्कृतिक रुपमा यसको छुट्टै महत्त्व रहेको छ । खासगरी तिजको मौलिकता र परम्परालाइ आजको समयमा तुलना गर्ने हो भने धेरै कुराहरू संस्करित भैरहेका छन यद्यपि तिजको बिगत र इतिहासलाई अध्ययन गर्ने हो भने यसको आफ्नै मौलिकता भेटिन्छ ।

केही बर्ष पहिलेको मात्र तिजको स्मरण गर्ने हो भने पनि तिजका ती दिनहरु बडो आनन्दित र गर्भ गर्न लाएक थिए भने आजभोली ती कुराहरु बिस्तारै लोप हुँदै गैरहेका छन । खासगरी आफ्नो जन्मघर र आफन्तहरु छोडेर बिबाह गरेर गएका चेलीबेटीहरु तिजको अघिल्लो दिन माइत आउने र आफ्ना आमा बुवा दाजुभाइ दिदीबहिनी सङ्गै बसेर दुख सुख साट्ने भलाकुसारी गर्ने र त्यसै रात मिठो मीठो भोजन गरेर तिजको दिन दिनभर व्रत बस्ने चलन छ ।

तिजको दिन दिनभर आफ्ना माइतितिरका दिदीबहिनी भेट भएर दुख सुखका आफ्ना भोगाइहरु गित मार्फत ब्यक्त गर्ने चलन छ । यसरी तिजको बिगत हेर्दा परम्परा मौलिक संस्कृती झल्काउने गित र परिवेश आज बिस्तारै हराउदै गैरहेको छ आज खासगरी विज्ञान प्रविधिको बिकास सङ्गै सामाजिक संजालको बढ्दो प्रयोग र भुमण्डलिकृत विश्वको बिकास सङ्गै नेपाली मौलिकता लोप हुँदै गइरहेको र पश्चिमा संस्कृती भित्रीरहेको पाइन्छ । यसै सन्दर्भमा तिजको बिषयमा विश्लेषणात्मक लेख तयार गरिएको छ ।

हिजोको तिज …..

खासगरी हिन्दु धर्ममा तिजको आफ्नै महत्त्व छ । तिजको बिगतलाइ अध्ययन गर्ने हो भने यो आफ्नै प्रकारको मौलिकता र परम्परा बोकेको चाड हो । हिजोको दिनहरुमा तिज मनाउने आफ्नै मौलिक तरिकाहरु थिए । खासगरी श्रावण सुरु भए देखि नै वा साउने सक्रान्तिको दिन बेलुका लुतो फाल्ने प्रचलन अनुसार लुतो फालेपछी गाउँमा वरिपरिका दिदिबहिनीहरु जम्मा भएर तिजको सुरुवाती गित गाउने गर्दथे त्यस दिन देखि प्राय तिजको दिनसम्मै गित गाउने प्रचलन थियो । त्यतिमात्र होइन गाउँघरमा कोदो रोप्दा होस वा अन्य काम गर्दा होस मेलापात होस वा यत्तिकै जम्मा हुँदा होस तिजको गित गुनगुनाउने बडो अजिवको र आफ्नै मौलिक चलन थियो ।

त्यतिबेला जब तिज नजिकिदै जान्थ्यो बिबाह गरेर गएका दिदिबहिनीको मनमा उमंग र उत्साहको सिमा हुन्थेन । खासगरी बर्षाभर काम गरेर थकित भएका नारीहरु तिजको बेलामा २,४ दिन भए पनि थकाइ बिसाउने र मनको बेदना पोख्ने चौतारी बन्थ्यो माइतीघर । जब तिज नजिकिदै जान्थ्यो वा तिजको १,२ दिन पहिले माइतबाट दाजुभाइ आफ्नो चेलिलाइ लिन घण्टौ पैदल हिडेर चेलिको घरमा जाने र फर्कदा चेलिको झोला बोकेर फर्कने यसको आफ्नै महत्व र आत्मियता थियो ।

जब तिजमा चेलीबेटीहरु कैयौं डाँडा पार गरेर माइत आउथे बुवा आमा र आफन्तहरुमा खुसिको सिमै रहन्थेन । खासगरी तिजको अघिल्लो दिनको राति माइतमा चेलीबेटी हरु जम्मा भएर सिजन अनुसार फर्सी,चिचिन्ना र घिरौला को तरकारी सङ्ग घ्यु हालेर खाइने भातको आफ्नै स्वाद थियो । तिजको दिन बिहानै देखि व्रत बसेर दिनभर वरिपरिका चेलीबेटीहरु एकैठाउ जम्मा भएर गाइने दुख सुख र बेदना बोकेका गितको आफ्नै महत्व र रौनकता थियो ।

तिजको २ दिन पछि आउने ऋषिपञ्चमीको दिन दिनभर व्रत बस्दै गरिने पुजाको आफ्नै मौलिकता थियो यसरी तिजको समग्र कार्यक्रम सकेर आखाभरी आँसु लिएर माइतीघर छोडेर आफ्नो घर जानुपर्दाको पीडा कम्ती भारी हुदैनथ्यो ।

आजको तिज …..

खासगरी समयको परिवर्तन र प्रबिधिको बिकास सङ्गै मानवीय चेतनामा परिवर्तन आउनु स्वभाविक होला तर यी सबै परिवर्तनको कारण आफ्नो परम्परागत मूल्य मान्यता र सँस्कार नै भुल्दै जानू पक्कै पनि राम्रो पक्ष हुनै सक्दैन ।

आज आधुनिकीकरण र बिकास सङ्गै हाम्रा हरेक परम्परा र संस्कृतीहरु लोप हुन दुखद कुरा हो । हिजो तिजको अघिल्लो दिन राती खाइने त्यो दर आज महिनौ खाइनु, हिँजोका दिदिबहिनीका वेदना बोकेका मौलिक गितहरुको साटो समाजलाइ नै अपाच्य हुने बिकृत गितहरु भित्रनु, हिजो बजाइने मादल र बासुरीको साटो डेग घन्काएर नाच्नु, हिजो महिनौ गुनगुनाइने गित आज निश्चित समयको लागि मात्र खुम्चिनु यि र यस्ता कुराहरु पक्कै पनि राम्रा र सुखद होइनन् ।

खासगरी प्रविधिको प्रयोग र भुमण्डलिकृत विश्वको बिकास सङ्गै हाम्रा संस्कार र परम्परा हराउँदै जानू र बाहिरको संस्कृती भित्रनुले हाम्रा पुराना मौलिकता बोकेका परम्पराहरु कालान्तरमा कितावको पाना वा सामाजिक संजालमा मात्र सिमित हुने त होइनन ?

गाउँ घरतिरको तिज …..

आज पनि सहरको तुलनामा गाउँघरतिरको तिज केही मौलिक प्रकारको छ । खासगरी पहिलेको तुलनामा नभए पनि केही मात्रामा भए पनि गाउँ घरतिरको तिजको आफ्नै बिशिस्टता छ । गाउँकै मादल बजाएर गाइने गित होस वा मेलामा कोदो रोप्दा गुनगुनाइने गित होस यो अझै पनि बाँकी नै छ । कहिँ कतै बाहेक गाउँमा सहरमा जस्तो भड्किलो र खर्चिलो छैन तिज ।

आफ्नै प्रकारको रहनसहन र सद्भाव बाकी नै छ । दर खाने प्रचलन पनि केही हद सम्म पुरानै सैलिको छ । गाउँका सबैजना जम्मा भएर पहिले जस्तो छिटो छिटो गाइने गितको प्रचलन हराउदै गएता पनि तिजको दिन गाउँभरका दिदिबहिनी र घरबाट माइत आएका चेलीबेटीहरु बिच मादल बजाएर गाइने तिजको आफ्नै मौलिकता र प्रचलन कायमै रहेको देख्न सकिन्छ ।

सहरको तिज…..

खासगरी बढ्दो सहरीकरणको बिकास सङ्गै हाम्रा आत्मियता र आपसी भाइचाराका सम्बन्धहरु हराउँदै गैरहेको सन्दर्भमा हाम्रा मौलिकता र परम्परामा प्रभाव पर्नु स्वाभाविक हो । आजको दुनियाँ पुँजीवादी दुनियाँ हो त्यसैले गाउको तुलनामा सहरमा त्यसको प्रभाव पर्नु स्वभाविक हो ।

आज मान्छेहरु पैसा र सम्पत्ति थुपार्ने होडबाजीमा तल्लीन भैरहेको अवस्थामा हाम्रो आफ्नो मौलिकता र परम्परा ओझेलमा पर्नु स्वभाविक हुन आउला तर यो सुखद परिणाम भने होइन । आज पैसा कमाउने नाममा हिजोका मौलिक गितहरुको साटो छाडा र अपाच्य गित तथा भिडियोहरु बजारमा आउनु पक्कै पनि हाम्रो सस्कार र मौलिक संस्कृती माथीको प्रहार हो ।

गाउँमा मादल बजाएर गाइने गितहरु / नाचिने नाचहरु सहरमा अपवाद बाहेक डेगमा रुपान्तरण हुनु र हिजो गाउँमा तिजको अघिल्लो दिन राति खाइने त्यो ओजनदार मौलिक दर आज सहरमा महङ्गा होटल पार्टी प्यालेजमा महिनौ खाने खाजा र खानामा रुपान्तरण हुनु यो पक्कै पनि बाहिरी संस्कृतीको प्रहार बाहेक केही हुनै सक्दैन ।

अन्त्यमा ……..
यसरी दिन प्रतिदिन हराउँदै गइरहेको हाम्रो मौलिक सस्कृतीको जगेर्ना गर्नु र हाम्रा पुर्खाहरुले स्थापित गरेर चलाउदै आइरहेको परम्परालाइ बचाउनु आजका सन्ततिहरुको कर्तव्य होइन र ?

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?