खिम खड्का
गुल्मीको सामान्य जानकारी
अहिलेको ५ नम्वर प्रदेशको एक पहाडी जिल्ला हो गुल्मी जुन ११४९ वर्ग कि मी क्षेत्रफलमा फैलिएको छ । प्रचुर मात्रामा प्राकृतिक ,सांस्कृतिक ,ऐतिहासिक,पुरातात्विक सम्पदाहरुले भरिपूर्ण जिल्ला गुल्मी जसले प्रशस्त मात्रामा पर्यटन विकासको सम्भावना बोकेको छ । जसले पर्यटन विकासको क्षेत्रमा अग्रगामी छलाङ्ग मार्दै आन्तरिक तथा वाह्य पर्यटक भित्राउनका लागि विशेष योजना तर्जुमा गरी कार्यन्यनको क्षेत्रमा अगाडी बढिरहेको छ ।
विविध प्राकृतिक तथा कृतिम पर्यटकीय आधारहरु बोकेको गुल्मी ऐतिहासिक, धार्मिक एवं पुरातात्विक दृष्टिकोणले पनि त्यतिकै महत्वपूर्ण मानिन्छ । प्रसिद्ध रुरुधाम क्षेत्र,रेसुंगा लेक , विचित्र गुफा ,रेसुङ्गा भ्यू टावर ,शिद्धेश्वर गुफा, चारपालाको ऐतिहासिक दरवार ,धुर्कोट कोट, मुसिकोट दरबार, कंकेदेउराली , कालिगण्डकीको बाँध लगायतका स्थान गुल्मी जिल्लाका हेर्न लायक स्थानहरु हुन् ।
रेसुङ्गाको शिरबाट देखिने मनोरम दृश्य
स्थानिय तथा बाह्य पर्यटन सम्भावनालाई उजागर गरी पर्यटन विकास मार्फत आर्थिक सुदृढीकरण र जिल्लाको अलग पहिचान कायम राख्ने उद्धेश्यले विगतका वर्षहरुमा यो जिल्लाले कैयौ महोत्सव पनि सम्पन्न गरी सकेको छ । त्यसै गरी यस जिल्लालाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा चिनाउनका निम्ती विविध प्रकारका विकास निर्माण र प्रचार प्रसारका प्याकेज योजनाहरु अगाडि बढिरहेका पनि छन् तर अपेक्षाकृत ढंगले यसको विकास र सम्वद्र्धनका निम्ती ठोस योजनाहरु तर्र्जुमा गर्न नसक्दा पर्यटन विकासले हालसम्म पनि त्यति सफलता पाउन सकिरहेको छैन । हाल आएर जिल्लामा बिमानस्थलको समेत सुबिधा रहेता पनि पर्यटनका निम्ति आवस्यक अन्य विविध क्षेत्रहरुमा भने अपेक्षाकृत परिवर्तन र बिकाश हुन सकेको छैन ।
मनमोहक धार्मिक तथा ऐतिहासिक रेसुङ्गा क्षेत्र
गुल्मीको सदरमुकाम तम्घासको सिरमा रहेको रेसुङ्गा लेक त्यसमा रहेको भ्यू टावर, रेसुङ्गा यज्ञशाला लगायतका स्थानहरु यस क्षेत्रका प्रमुख पर्यटकिय र धार्मिक क्षेत्र मानिन्छन् । विहान सबेरै सुर्योदयको मनोरम दृश्य हेर्न सकिने रेसुङ्गा तम्घास बाट करिव डेढ घण्टाको पैदल यात्राबाट पुग्न सकिन्छ । हाल आएर यातायातको समेत राम्रो व्यवस्था भैरहेको रेसुङ्गामा पुग्न आधाभन्दा बढी बाटो गाडी बाट पनि जान सकिन्छ । पैदल यात्रा होस् वा सवारी यात्रा होस् रेसुङ्गा सम्मको यात्रामा सिजन अनुसार ढकमक्क फुलेका लालिगुँरास लगायतका फुलहरु हेर्न पाइन्छ भने चिसो सिरेटो र चराचुरुङ्गीहरुको मिठो धुनको आनन्द लिन पाइन्छ ।
रेसुङ्गामा रहेका धार्मिक क्षेत्रहरु
धार्मिक पर्यटन को ठुलो सम्भावना बोकेको रेसुङ्गा जहाँ विविध प्रकारका मठ मन्दिरहरु रहेका छन् । रेसुङ्गाको सबैभन्दा पुरानो मन्दिर सिद्दस्थान हो जुन रेसुङ्गाको शिखरमै रहेको छ । यहाँको सबैभन्दा चुचुरोमा विष्णुपादुका र शिवालय मन्दिर रहेका छन् । रेसुङ्गा शिरको केहि तल राधाकृष्ण मन्दिर ,प्रभुगादी र यज्ञशाला छन् । यसै ठाँउमा गौशाला,पाकशाला, नारायण स्मृति भवन र प्रवचन गृह रहेका छन् जुन एउटा सुन्दर बगैचाको कम्पाउन्ड भित्र रहेका छन् ।

रेसुङ्गा यज्ञशाला
सिरमा रहेको मन्दिरमा कार्तिक महिनामा पर्ने हरिवोधनी एकादशीमा भव्य मेला लाग्ने गर्दछ । हजारौँ तिर्थयात्रीहरु त्यहाँ जाने ,पुजा गर्ने र त्यहाँ रहेको पोखरीमा स्नान गर्ने गर्दछन भने प्रत्येक बर्षको श्रावण महिना भर यस क्षेत्रमा भब्य मेला लाग्ने गर्दछ ।
यसरी जो कोहीलाई पनि लोभ्याउने रेसुङ्गाको लेक धेरै कलाकारहरुको गितको माध्यम पनि बनेको छ । गुल्मी जिल्लामा जन्मनु भएका तथा राष्ट्रिय स्थरमै ख्याति कमाउनु भएका गायक बोम बहादुर कार्की भन्नुहुन्छ –मैले पहिलो पटक रेसुङ्गालाई माध्यम बनाएर गाएको गीत “तिमी पारी म भए वारी बिचैमा छ रेसुङ्गा तगारी …….” यही गित नै रेडियो नेपालको मेरो प्रवेशद्वार र साङगीतिक खुट्किलो थियो ।
२०४० सालतिर बोम बहादुर कार्की र हालसम्म आउँदा सन्तोष के सी,रामचन्द्र चन्द,बाबुराम पन्थी,बैकुण्ठ महत लगायतका कलाकारहरुको गितको बनेको रेसुङ्गा जहाँ पुग्नु अघि महापोखरी , रेसुङ्गा यज्ञ धर्मशाला, सिद्धस्थानको साथै रेसुङ्गाको सिरमा पुग्न सकिन्छ । रेसुङ्गाको सिरमा रहेको भ्यु टावर मार्फत धेरै जिल्लाहरु र हिमालयको मनोरम दृश्य समेत देख्न सकिन्छ ।
रेसुङ्गा भ्यु टावर
रेसुङ्गाको ऐतिहासिक महत्व
रेसुङ्गा आध्यात्मिक तपोभुमी हो । किम्बदन्ती अनुसार प्राचीन कालमा रेसुङ्गा आसपासको सबै क्षेत्र जङ्गलको रुपमा रहेको थियो त्यसै कारण त्यो ठाउँ तपस्या गर्नको लागी उपयुक्त थियो । त्यसै बेला भिमाण्डक मुनिका पुत्र ऋष्य श्रृङगले यहाँ तपस्या गरेको हुनाले यश ठाउको नस्म कालान्तरमा रेसुङ्गा रहन गएको भनाइ छ । त्यस पश्चात् धेरै ऋषिहरुले यस ठाउँमा तपस्या गरेको गरेको हुनाले प्राचीन कालदेखी आजसम्म यो ठाउँ तपोभुमिकै रुपमा प्रशिद्ध छ ।
पछि बि.सं. १९८३ मा यदुका नन्द स्वामी रेसुङ्गामा आएपछि यज्ञशाला निर्माण गरियो । त्यसपछि तत्कालीन केन्द्रिय सत्ताले यसको बिकाशमा जोड दिएको बताउँछन् यहाँका बुढापाकाहरु । त्यसपछि २०४२ सालमा योगी नरहरी नाथले एक महिना बसेर कोटी होम गरेपछि रेसुङ्गाको पुनर्संरचना र बिकास व्यापक रुपमा अगाडी बढेको बताउनुहुन्छ गुल्मीका स्थानीय समाजसेवी नन्दराम भुशाल ।
सरकारी तवरबाट योजनाबद्ध बिकाश गरि धार्मिक पर्यटनको रुपमा बिस्तार गर्न २०६३ सालमा नेपाल सरकारले रुरु- रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन बिकाश समिति गठन गरिएको थियो । यसरी पहिलो पटक रेसुङ्गा यात्रामा निस्कने जो कोहिलाइ पनि सोही क्षेत्रमा बसौ बसौ लाग्ने रेसुङ्गा वास्तममै एक सुन्दर, मनोरम र पर्यटकीय स्थलको रुपमा लिनु स्वाभाविक हो ।