१३ पौष,बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीको दशौं दिन आइतबार बुटवल उपमहानगरपालिकाले छड्के अनुगमन गरेको छ ।
प्रदर्शनी तथा मेलामहोत्सवहरुमा मिति नाघेका वस्तुको विक्री वितरण हुने, अखाद्य वस्तुको मिसावटमा खाद्यपदार्थ बेचिने हुनसक्ने विषयलाई ध्यानमा राखेर उपमहानगरपालिकाका उपमेयर सावित्रा अर्यालको नेतृत्वमा आएको अनुगमनटोलीले छड्के अनुगमन गरेको थियो ।
प्रदर्शनीमा रहेका कुनैपनि स्टलहरुमा मिति नाघेका वस्तु तथा होटलहरुमा अखाद्य वस्तु नभेटिएको हो । ‘म जिम्मेवारीमा आएपछि तीन वटा यस्ता प्रदर्शनी महोत्सवको अनुगमन गरेँ तर अहिलेजस्तो व्यवस्थित पहिलेकोमा थिएन, दुई होटलमा अलिकति सरसफाईका लागि अनुगमन टोलीले सचेत गराएका छौं, हामीले २ घन्टा लगाएर अधिकांश स्टलहरुमा पुगेर अनुगमन गरेका हौं, यस्तो प्रदर्शनी र महोत्सवहरुमा स्टलधनीलाई आयोजकले नै कडाई गर्नुपर्दछ’ उपमेयर सावित्रा अर्यालको भनाई छ ।

आइतबार प्रदर्शनी स्थलमा स्वदेशसँगै विदेशी अवलोकनकर्ता पनि आएपछि आयोजकलाई हौसला बढेको अध्यक्ष कृष्ण पराजुलीले बताउनुभयो । सामाजिक सन्जालमा राखेको सूचनाका आधारमा भुटानबाट लुम्बिनी घुम्न आएका तीन दर्जन पर्यटक प्रदर्शनी स्थल आएको प्रचार प्रसार संयोजक किरण खरेल बताउनुहुन्छ ।
पर्यटन उपसमितिका संयोजक टंकनारायण आचार्यका अनुसार यहाँ आएकापर्यटकलाई टोलीले लुम्बिनी घुमाउन लगेको समयमा भुटानबाट त्यहाँ आएका पर्यटकहरुको ठूलो टीमले त्यहाँका पर्यटन व्यवसायीसँगको समन्वयमा प्रदर्शनी अवलोकनको रुची राखेपछि ल्याउने व्यवस्था मिलाइएको हो ।
यसैगरी प्रदर्शनीमा आइतबार सकिएको विद्यालय नृत्य प्रतियोगितामा लुम्बिनी बोर्डिङ स्कुल प्रथम, अक्सफोर्ड दोस्रो र तिनाउ तेस्रो भएको सांस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालले बताउनुभयो ।
यसैगरी प्रदर्शनीमा राखिएको खुला रक्तदानमा सचेतनासँगै रक्तदान गर्नेको संख्या पनि बढेको यसको समन्वय गर्नुभएका नेपाल नियमित रक्तदाता संघका अध्यक्ष अशेष सिलवालले बताउनुभयो ।
आइतबार नै नेपाल राष्ट्र बैंकका कामु गर्भनर डा. निलम ढुंगानाले प्रदर्शनीको अवलोकन गर्नुभएको छ । उहाँ सोमबार रुपन्देही उद्योगसंघले आयोजना गरेको समृद्ध नेपालको आधार स्वदेशी उद्यमशीलताको बिस्तार विषयक छलफल कार्यक्रममा सहभागी हुनका लागि आउनुभएको हो ।
यो कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल, नेपाल उद्योग परिसंघका अध्यक्ष ई वीरेन्द्रराज पाण्डे र वरिष्ठ अर्थविद् डा. केशव आचार्य आउनुहुनेसंघका महासचिव सुमन बस्यालले जानकारी दिनुभयो ।
पुस ३ गतेदेखि १७ गतेसम्म रुपन्देही उद्योग संघले आयोजना भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटनमहोत्सवमा दिन प्रतिदिन अवलोकनकर्ताको संख्या बढ्दै गएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिनुभयो । संघका कोषाध्यक्ष विशाल वेलवासेले प्रदर्शनीमा अवलोकनकर्तासँगै कारोबार पनि दैनिक बढ्दै गएको बताउनुभयो ।
पुसको पहिलो सातादेखि नै बुटवलमा हुस्यु तथा शीतलहर सुरु भए पनि त्यसको बाबजुत अवलोकनकर्ताको घुइँचो लागेको छ ।प्रदर्शनीमा स्वदेशी उत्पादन र यसको प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादितवस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्नेविषयलाई प्राथमिकतामा राखेको संघले जनाएको छ ।

