३ भाद्र, बुटवल । बुटवलमा रहेको आधुनिक समाज डेन्टलले पहिलो पटक स्वस्थ मुख महाअभियान सुरु गर्ने भएको छ । “स्वस्थ शरीरको लागि स्वस्थ मुख” भन्ने मुल नारा र “पैसाको अभावमा कसैले दुखाइ सहन नपरोस, पैसाकै अभावमा कोही मुस्कुराउन नबिर्सियोस् “ भन्ने मर्मका साथ आधुनिक समाज डेन्टल बुटवलले उक्त अभियान संचालन गर्न लागेको हो ।
भाद्र ३ गते (आज) बुटवलमा पत्रकार सम्मेलन गर्दै यही भदौ ४ गते भोली बिहान ७:३० बाट बुटवल ६ पुष्पलाल पार्क स्थित संस्थाको भवन अगाडीबाट र्याली सहित अभियानको उद्धघाटन गर्न लागिएको आयोजक संस्था आधुनिक समाज डेन्टलका संचालक तथा स्वस्थ मुख महाअभियानका अभियानकर्ता अमृत भुषालले बताए ।
अभियानमा र्याली पश्चात पहिलो दिन दिनभर पुष्पलाल पार्कमै १० जना चिकित्सक सहित निशुल्क मुख परिक्षण र मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिइने तथा भाद्र ५ गते देखि आश्विन १ गते सम्म दैनिक ३ जना दन्त चिकित्सक र अन्य प्राविधिक टिम सहित बिहान १० गते देखि साँझ ६ बजेसम्म हरेक दिन निशुल्क मुख परिक्षण र मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण कार्यक्रम चलाइने अभियानकर्ता अमृत भुषालले जानकारी दिएका छन ।
राजनीतिक दल,स्थानिय तहका प्रमुख/उप–प्रमुख,स्वास्थ्यकर्मी, लेखक, शिक्षक, बुद्धिजीवी, व्यावसायिक संघ–संस्था, सञ्चारकर्मी,जनप्रतिनिधि, पत्रकार, युवा क्लब लगायतको सहभागीता रहने अभियानमा पहिलो चरणको १ महिनाको अवधिमा करिव २० हजार जनालाई प्रत्यक्ष निशुल्क मुख परिक्षण सङ्गै स्वस्थ मुख सम्बन्धी प्रशिक्षण दिइने बताइएको छ ।
खासगरी अभियान मार्फत सम्पूर्ण शरीरको स्वास्थ्यको लागी मुखस्वास्थ्यको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने, आधारभूत मुख स्वास्थ्य उपचार गुणस्तरीय र सबैको पहुँचमा पुर्याउने, प्रत्येक ६/६महिनामा एकपटक मुख स्वास्थ्य परीक्षण गर्न जनचेतना अभिवृद्धि गर्ने, शैक्षिक अभियान मार्फत विद्यालयस्तरमा मुख स्वास्थ्य सम्बन्धी पाठ्यक्रम समावेश गराउने र शिक्षक/स्वास्थ्यकर्मीलाई आवश्यक तालिम प्रदान गर्ने, सामाजिक समावेशिता दन्त अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्ग सरहको हेरचाह गर्दै कृतिम दाँत उपचार गराउन वातावरण सिर्जना गर्ने, स्थानीय तहदेखि केन्द्रसम्मका सरकारी कार्यक्रमहरुमा मुख स्वास्थ्यलाई प्राथमिक आधरभुत सेवामा समावेश गराउन नितिगत पहल गर्ने, नागरिक/बुद्धिजीवी/व्यवसायिक/साहित्यिक र राजनीतिक वर्गको सहकार्यमा जनताको सहभागिता सहित अभियानलाई राष्ट्रिय तहमा विस्तार गर्ने लगायतका लक्ष्य राखिएको स्वस्थ मुख महाअभियानका अभियानकर्ता भुशालले बताए ।
आधुनिक समाज डेन्टलको प्राविधिक र आर्थिक सहयोग एवम लायन्स क्लव अफ रुपन्देही, रोटरी क्लव अफ लुम्बिनी स्टार्स, दारी ग्याङ र आधुनिक समाज विकास फाउण्डेसनको संयुक्त आयोजनामा प्रदेशमै पहिलो पटक आयोजना हुन लागेको स्वस्थ मुख महाअभियान कार्यक्रमको सञ्चालनको निम्ती गरिएको पत्रकार सम्मेलनमा आधुनिक समाज विकास फाउण्डेसनको अध्यक्ष तथा अभियानकर्ता अमृत भुषाल सहित लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपालका २०२५–०२६ डिष्ट्रिक्ट गभर्नर लायन बालाराम भट्टराई, रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का २०२५–०२६ का डिष्ट्रिक्ट गभर्नर रोटरियन बिनोद कोइराला, लायन क्लव अफ रुपन्देहीका अध्यक्ष लायन घनश्याम घिमिरे, रोटरी क्लव अफ लुम्बिनी स्टार्स अध्यक्ष रोटरियन बिमल ढकाल, दारी ग्याङ रुपन्देही अध्यक्ष रमेश खनाल लगायतले ‘स्वस्थ मुख महाअभियान’ को बारेमा प्रकास पारेका थिए ।
गत बर्ष मात्र आधुनिक समाज डेण्टलले रोटरी क्लव अफ लुम्बिनी स्टार्सको समन्वयमा १ लाखभन्दा बढी विद्यार्थीलाई निशुल्क दन्त परिक्षण तथा मुख स्वास्थ्य शिक्षा प्रदान गरेको थियो भने यस बर्ष ५० हजार जनामा निःशुल्क मुख परीक्षण साथै मुख स्वास्थ्य शिक्षाको लक्ष्य लिएको छ । यसबाट आर्थिक अभावमा दन्त तथा मुख परिक्षणबाट वन्चित र अन्य ठुलो संख्यालाई राहत मिल्ने विश्वास लिइएको छ ।
स्वास्थ्य मन्त्रालयको विभिन्न रिपोर्ट तथा फिल्ड अनुभवहरूले देखाए अनुसार नेपालको करिब ७० प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारका मुख स्वास्थ्य सम्बन्धी समस्या रहेका छन् जसमा गिँजा रोग, मुख गन्हाउने समस्या, दाँत किराले खाने समस्या र दाँत झर्ने समस्या प्रमुख छन् । विशेषगरी दुर्गम तथा आर्थिक रुपमा कमजोर नागरिकहरुले आधारभुत मुख स्वास्थ्य नपाउदा अनावश्यक पिडा भोग्नु परेको तथ्याङ्कले बताएको छ ।

