२६ साउन,बुटवल । रुपन्देहीको बुटवल स्थित देविनगरमा रहेको नेपालकै नमूना सामुदायिक क्याम्पसको रुपमा परिचित लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट तेस्रोपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको छ । सोही अवसरमा क्याम्पसले मंगलबार (भोली) बुटवलमा खुशी साट्दै प्रभातफेरी गर्ने भएको छ
विश्वविद्यालय अनुदान आयोग, नेपालको कार्यालय भक्तपुरमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको अध्यक्षता तथा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालको प्रमुख आतिथ्यता रहेको एक कार्यक्रमका बिच क्याम्पसलाई उक्त प्रमाणपत्र प्रदान गरिएको छ ।
यस क्याम्पसको तेस्रो चरणको क्यूएए प्रदान गर्नका लागि अन्तिम चरणको मुल्यांकन गर्न विदेशी विज्ञ सहितको पूर्ण परीक्षण भ्रमण टोलीले २०८१ पौष २२ गतेदेखि २६ गतेसम्म १२० सूचक भित्र रहेर क्याम्पसमा अध्ययनरत विद्यार्थी, कार्यरत कर्मचारी, प्राध्यापक, अभिभावक, क्याम्पस सञ्चालक समिति, स्ववियु, विभिन्न समूहका संयोजक, विभागीय प्रमुख, भूपू विद्यार्थी, विभिन्न कार्यक्रमका डाइरेक्टर तथा इन्चार्ज, रोजगारदाता, स्थानीय समाजसेवी लगायत सरोकारवाला पक्षहरुसङ्ग छुट्टाछुट्टै छलफल तथा अन्तरक्रिया गरी आफ्नो प्रतिवेदन विश्वविद्यालय अनुदान आयोग नेपालको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषदमा बुझाएको थियो ।
तेस्रो पटक क्यूएए प्राप्त गरे पश्चात क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले लुम्बिनी वाणिज्य क्याम्पस तेस्रो पटक क्यूएए पाउने नेपालकै पहिलो शैक्षिक संस्था बनेको बताए ।
विश्वविद्यालय अनुदान आयोग नेपालबाट प्रमाणपत्र प्राप्त गरे संगै क्याम्पसले मंगलबार बुटवलमा खुशी साट्दै प्रभातफेरी गर्ने भएको छ । बाणिज्य क्याम्पसका अनुसार भोली बाणिज्य क्याम्पस प्रांगणबाट सुरु हुने प्रभातफेरी तिनकुने, ईटाभट्टी, पुष्पलाल पार्क, मिलनचोक, राजमार्ग चौराह, कालिका चोक, होराईजन चोक हुँदै क्याम्पस प्रांगणमा आएर समापन हुनेछ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी वि.सं. २०३८ सालमा स्थापित यस क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट पहिलोपटक वि.सं. २०६८ सालमा क्यूएए प्रमाणपत्र प्राप्त गरेको र वि.सं.२०७५ सालमा पुनः दोश्रोपटक क्यूएए प्रमाणपत्र प्राप्त गरेको थियो भने वि.सं. २०७५ र वि.सं. २०८० सालमा सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा नेपाल सरकारबाट पुरस्कृत समेत भएको थियो ।
त्यस्तै क्याम्पस वि.सं.२०७६ सालमा लुम्बिनी प्रदेश, प्रदेश प्रज्ञा पदक द्धितीयबाट विभुषित समेत भएको थियो । हाल क्याम्पसमा करिब ४ हजार विद्यार्थीहरु, ४८ जना प्राध्यापक र २५ जना कर्मचारी रहेका छन ।