राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा साउन २५ भित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
शैक्षिक क्यालेन्डर अनुसार नतिजा साउन १५ भित्रै प्रकाशित गर्नुपर्ने भए पनि, शिक्षक आन्दोलनका कारण करिब १० दिन ढिलाइ हुन लागेको बोर्डले जनाएको छ ।
परीक्षा निर्धारित मितिमा हुन नसकेका कारण मूल्यांकन तथा नतिजा तयारीको काम ढिला भएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक महासंघले चैत २० गतेदेखि २९ दिनसम्म देशभर आन्दोलन गरेको थियो, जसका कारण परीक्षा तालिका प्रभावित भएको थियो ।
यस वर्ष देशभरिबाट कूल ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी कक्षा १२ को परीक्षा सहभागी भएका थिए ।

