राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले नेपाली राजनीतिमा भ्रष्टाचार गहिरोसँग जरा गाडिसकेकोआरोप लगाउदै नेताहरूको “रगतमै भ्रष्टाचार मिसिएको” टिप्पणी गरेकी छन ।
आज सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन ।
नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि संशोधन प्रस्तावकर्तासँग छलफल गरिएको बैठकमा सांसद कार्कीले नेपालमा प्रयोगमै नआउने विमान किन्नु र नचल्ने विमानस्थल बनाउने काम निरन्तर भइरहेको उल्लेख गर्दै त्यसको मूल कारण भ्रष्टाचार रहेको बताइन ।
उनले “हामीकहाँ उड्न नसक्ने जहाज खरिद हुन्छन्, नचल्ने एयरपोर्टहरू निर्माण हुन्छन् । यसको पछाडि नेताहरूको स्वार्थ, भ्रष्टाचार र राजनीतिक भागबन्डा जिम्मेवार छ,” कार्कीले बताइन् । कार्कीले हवाई क्षेत्रमै सीमित नभई, राजनीतिक तहमा नै व्यापक सुधार आवश्यक रहेको टिप्पणी गरेकी छन ।

