बुटवल । लुम्बिनी केबलकार लिमिटेड औपचारिक रुपमा सञ्चालनमा आएको दुई वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको छ । २०८० जेठ १५ देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन २०८० जेठ २५ गते भएको थियो ।
बुटवल–३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका ३ बसन्तपुरमा माथिल्लो स्टेशन रहेको केबलकारले बुटवल र बसन्तपुरलाई जोडेको छ । सञ्चालनमा आएको दुई वर्षमा साढे तीन लाख बढी पर्यटकले केबलकार यात्रा गरेका कम्पनीले जनाएको छ । कूल पर्यटक मध्ये भारतीय पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा तेब्बरले बृद्धि भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा ८ प्रतिशत भारतीय आएकोमा चालु आर्थिक वर्षमा बढेर २१ प्रतिशत पुगेको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए । दुई वर्षमा झण्डै ५० हजार भारतीय पर्यटक आएको कम्पनीले जनाएको छ । तेस्रो मुलुकका पर्यटक संख्या भने एक प्रतिशत भन्दा कम छ ।
दशकौं बर्षसम्म सुनसान पाल्पाको बसन्तपुर केबलकार सञ्चालनमा आएपछि गुल्जार भएको छ । समुन्द्री सतहबाट करिब एक हजार मिटर उचाईमा रहेको डांडोमा लुम्बिनी केबलकारको माथिल्लो स्टेशन सहित प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर, जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ ( आधुनिक पिङ), बाल उद्यान, भ्यू प्वाइन्ट, रेष्टुंरा, सेमिनार हल लगायत पर्यटकीय संरचना बनेकाले दुई वर्षमै बसन्तपुर आकर्षक पर्यटकीय गन्तव्य बनेको हो ।
२९ वर्षअघि २०५३ सालमा स्थानीय लक्ष्मण गौतम, तेजप्रसाद सुनार, ऋषि भण्डारी लगायतले बुटवलबाट बसन्तपुर जोड्ने गरी केबलकार सञ्चालनको परिकल्पना गरी करिब सय रोपनी जग्गा खरिद गरेका थिए ।
६ वर्षअघि चन्द्रप्रसाद ढकाल समूहको आईएमई ग्रुपले नेतृत्व लिएपछि भने केबलकार निर्माणले गति लिई शुरु गरेको २ वर्षमै केबलकार सपना सार्थक भयो । बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुंदै आएको दुर्गा माताको मन्दिरलाई पुनःनिर्माण गरी नयां बनाइएको छ । यी दुई मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेका छन् ।
कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र जीवनमा आइपर्ने संकट मोचन हुने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न शहरबाट भक्तजनहरु उल्लेख्य संख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउंछन् ।
केबलकारले जन्मदिनमा निशुल्क यात्रा, हरेक महिनाको १ गते सांझ महाआरती अफर, ५० जना भन्दा बढी समूहमा आउनेलाई विशेषछुट अफर लगायत विभिन्न संघसंस्थासंग टिकट दरमा छुटको सम्झौता गरी बजार प्रवद्र्धन गरिरहेको अपरेसन म्यानेजर सैंजूले बताए ।
बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेरन्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको कम्पनीका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए ।
धार्मिक र पर्यटकीय पुर्वाधार, जुनसुकै ऋतुमा अनुकुल मौसम,बजारको कोलाहल र प्रदुषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण बसन्तपुर नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाईको थलो बनेको घिमिरेले बताए ।
अहिले बसन्तपुर सेलिब्रेटी कलाकार, खेलाडी, सबैजसो दलका नेता घुम्न आउने देखि विवाह गर्ने र म्युजिक भिडियो सुटिङ गर्ने थलो बनेको सुनारले सुनाए । कम्पनीले विभिन्न व्यवसायिक संघसंस्थाहरुसंग छुट सम्झौता गरेर बजार प्रवद्र्धन गरिरहेको छ ।
केबलकारले पाल्पा तिनाउ –३ र बुटवल वडा नं ३ का बासिन्दालाई टिकटमा ५० प्रतिशत छुट तथा प्रति टिकट दुई पालिकालाई एक–एक प्रतिशत रकम कर वापत दिएको छ । यसबाट स्थानीय विकासमा पनि राम्रै योगदान भएको छ ।
अष्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवत जावत गराउन सक्छ ।
विश्वका विभिन्न देशमा सय वर्षदेखि १५ हजार बढी संख्यामा सञ्चालनमा रहेको यो केबलकारको प्रविधि विश्वमै अत्याधुनिक रसुरक्षित रहेको अपरेसन म्यानेजर डीएन कायस्थ सैंजू बताउंछन् ।
केबलकार सञ्चालनमा आएपछि प्रदेश सरकारको पर्यटन विकास परिषद्ले बसन्तपुरलाई प्रमुख पर्यटकीय थलको सूचिमा सूचीकृतगरेको परिषद्का प्रमुख रामु जोशीले बताए ।
केबलकार र पाँचतारे होटेल सहित कुल ५ अर्ब रुपैयाँ लागतको आयोजना अन्तर्गत दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा बसन्तपुरमा एकसय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पाँचतारे होटेल बनाउने प्रकृया अघि बढेको छ ।