राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले आइतबार ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’को भ्रमण गर्दै सातै प्रदेशबाट प्रादेशिक ललितकला प्रदर्शनी २०८१’मार्फत छानिएका कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’मा देख्न पाएको बताए । ‘पहिलो कुरा त नेपाल कलामा कति धनी छ भन्ने कुराको यो एउटा प्रमाण हो । नेपाल पूरै घुम्नु परेन । सिङ्गो नेपालको कलाकृति, प्रतिभा र क्षमता यहाँ प्रदर्शन भएको छ भन्ने मलाई अनुभूत भएको छ ।‘ उनले भने ।
“यो कला, संस्कृतिलाई पर्यटनसँग जोड्न सकियो भने देशले अर्को एउटा महत्त्वपूर्ण फड्को मार्न सक्छ । कलाको प्रचार, कलाकोविकास, पर्यटनको विकास हुने, र नेपाललाई आम्दानी हुने, रोजगारीको सिर्जना हुने यी खालका सबै विषयवस्तुलाई ठिक ढङ्गले व्यवस्थापन गर्नुपर्ने बताउदै दाहालले भने अघिल्लो वर्षभन्दा तुलनात्मक रुपले अहिले विकास भएको पाएँ । ललितकला हाम्रो धरोहर हो । यसलाई नेपाली जनताका बिचमा यसका महत्त्व र आवश्यकताका बारेमा बोध गराउने काम गर्नुस् । त्यसका निम्ति मैले गर्न सक्ने सक्दो सहयोग गर्छु ।’
प्रतिष्ठानले ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ मार्फत छानिएका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित कलाकृति गरी देशका ६५ जिल्लाका लोककला, शिल्प–हस्तकला, परम्परागत चित्रकला÷मूर्तिकला, वास्तुकला, समसामयिक÷आधुनिक चित्रकला÷मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुन लगायतका विविध विधाका ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश गरेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को आयोजना गरेको हो ।
जेठ ३० गतेसम्म चल्ने प्रदर्शनीमा ललितकलाका विविध विधाका साथै मुख्यतः थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किराँतका कलाको विशेष सहभागिता रहेको छ ।