काठमाडौं । ‘खोज पत्रकारिता‘मार्फत सामाजिक चेतना फैलाउँदै आएका गोरखा जिल्लाका पत्रकार जीवन शर्मा खोज पत्रकारितामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै आर्या मिडिया हाउसको आयोजना तथा संयुक्त मेला महोत्सव ग्रुप प्रालिको व्यवस्थापनमा संचालित कागेश्वरी मनोहरा (मुलपानी) महोत्सव– २०८२ को अवसरमा नेपाली खोजी पत्रकारितामा पुर्याएको योगदानको सम्मान गर्दै सम्मानित भएका छन ।
विसं २०४० साल कार्तिक १५ गते गोरखा जिल्लाको साविक दहरबुङ्गा गाविस वडा नं. ६ (हाल गण्डकी गाउँपालिका वडा नं. ५) मा पिता विष्णुप्रसाद खनाल र माता दुर्गादेवी खनालको जेष्ठ सुपुत्रका रूपमा जन्मिएका शर्माको बाल्यकाल सामान्य गाउँले परिवेशमा बित्यो । तर विचार र प्रस्तुतिका हिसाबले उनी सधैं पृथक थिए । समाजमा दबीएका आवाजहरूलाई निर्भीक रूपमा सार्वजनिक गर्न रुचाउने शर्मा सामाजिक न्यायका लागि कलम चलाउने तीखो पत्रकारका रूपमा चिनिन्छन ।
वि.सं. २०६१ साल वैशाख १४ गते न्यु एक्टिभ मिडियाबाट पत्रकारिता तालिम लिएका शर्माले सोही वर्ष पोखरा एफएम ९५.८मेगाहर्जबाट “लोक सुसेली” र साहित्य कार्यक्रम “पल प्रति पल” कार्यक्रममार्फत आफ्नो पत्रकारिता यात्रा सुरु गरे। रेडियो कार्यक्रम मार्फत जनसरोकारका विषय उठाउँदै आएका उनले पछि छाँपा माध्यममा पनि सशक्त उपस्थिति जनाए।
उनका लेख, रिपोर्ट र फिचर लेखहरू अफ्लिमेन्ट, न्युजलाईनस् पाँछिक, जनसभाल राष्ट्रिय दैनिक, मध्यान्ह दैनिक लगायतका राष्ट्रिय तथा क्षेत्रीय पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन ।शर्मा खोज पत्रकारिताका साथै भूगोल केन्द्रित विश्लेषणात्मक समाचारमा विशेष रुचि राख्छन ।
उनी विगतमा देशको भौगोलिक र सीमावर्ती क्षेत्रहरूमा देखिएका अनियमितता, वन पैदावार तस्करी, सार्वजनिक सम्पत्तिको दोहन, तथा अवैध कारोबार जस्ता विषयमा गहिरो अनुसन्धानसहितका समाचार प्रकाशित गर्दै आएका छन । हाल उनले स्थानीय सरोकार पत्रिका छापा र निगरानी दैनिक डटकम नामक अनलाइन संचालन गरिरहेका छन् ।
खोज पत्रकारिताको क्रममा उनले विभिन्न दबाब, आर्थिक संकट, भौतिक धम्की र मानसिक यातना भोग्नु परेको अनुभव सुनाउँदै भन्छन्,“सत्य लेख्न सक्नु खोज पत्रकारिताको आत्मा हो, तर यो यात्रा निकै कठिन र जोखिमपूर्ण हुन्छ।”
उनका अनुसार खोजी पत्रकारितामा सरकार, समाज र गैरकानुनी सञ्जालहरू सबै बाट प्रतिरोध हुन सक्छ, तर सत्य र न्यायको पक्षमा कलम चलाउनु पत्रकारको धर्म हो । यिनै अविचल प्रयास र सामाजिक योगदानलाई मध्यनजर गर्दै उनलाई खोजी पत्रकार विशेष सम्मान प्रदान गरेको हो।
कार्यक्रममा बोल्दै आयोजकले शर्माको निर्भीक पत्रकारिता, तथ्यमा आधारित रिपोर्टिङ, र सामाजिक उत्तरदायित्व प्रति देखाएको प्रतिबद्धतालाई उदाहरणीय बताए ।
देशका अन्य पत्रकारलाई पनि साहसी र तथ्यपूर्ण पत्रकारिताका लागि प्रेरणा दिन सक्ने उदाहरणका रूपमा लिइने शर्माको यात्राले नेपाली पत्रकारिताको क्षेत्रमा थप उचाइ प्रदान गर्ने विश्वास गरिएको छ।

