सुमन ज्ञवाली,
जापान संवाददाता (पावर संचार)
जापानको फुकुओकामा ‘फुकुओका नेपाल सोसाइटी‘ को संयोजकत्वमा १२ औं नेपाल फेस्टिवल फुकुओका २०२५ अप्रिल १२ र १३ तारिकका दिन जापानको तेन्जिन सेन्ट्रल पार्कमा आयोजना हुँदैछ ।
कार्यक्रम एनआरएनए क्युस्यु, आदीवासी जनजाती महासँघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अभियान जापान, नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको आयोजना र क्युस्युमा अवस्थीत अन्य संघ संस्थाहरुको सह-आयोजनामा हुन लागेको कार्यक्रम संयोजक इन्द्र घलेले जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा नेपाली राजदुतावास टोकियो, अवैतनिक वाणिज्य दुतावास फुकुओका, फुकुओका केन, फुकुओका सी, लगायतका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको सहयोग रहने संयोजक घलेले जानकारी दिनुभयो ।
“नेपाल र नेपालीको पहिचानलाई जापानमा प्रवर्द्धन गर्दै, पर्यटन, कला, संस्कृति, परम्परा, रीतिरिवाजको निरन्तरता र नेपाली संस्कृतिको उजागर गर्ने अभिप्रायले, जापानमा बस्ने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदी–बहिनी बीचको एकताका साथ साथै नेपाल प्रतिको जापानीज नागरिकको हेराइ परिवर्तत गराउने उद्देश्यले यस फेस्टिवलको आयोजना गरिएको आयोजकको भनाइ छ ।
२०२५ अप्रिल १२ र १३ तारीक जापानको तेन्जिन सेन्ट्रल पार्कमा बिहान १० बजेबाट साँझ ६ बजे सम्म आयोजना गरिएको उक्त कार्यक्रममा ख्याती प्राप्त गायिका प्रिती आले, ख्याती प्राप्त गायक हेमन्त शर्मा लगाएत जापानलाई कर्मथलो बनाउँदै साँगीतिक क्षेत्रमा अग्रसर विभिन्न कलाकारहरुको वेजोड प्रस्तुति रहने बताइएको छ ।
“भाषा हराए सस्कृति हराउँछ , संस्कृति हराए पहिचान हराउँछ, पहिचान हराए मानिस हराउँछ ! भन्ने मर्मको साथ फुकुओका नेपाल सोसाइटि द्दारा आयोजित कार्यक्रम सामाजिक सेवामा अग्रसर सामाजिक अभियन्ता इन्द्र घलेको संयोजकत्वमा हुन लागेको र सो कार्यक्रमले नेपालीको हक र हितका लागि राम्रो गर्नुको साथै नेपाल र जापान बिचको सम्बन्ध सदाबहार गराउन महत्वपुर्ण भुमिका खेल्ने आयोजकको विश्वास रहेको छ ।