अनिल नेपाली
पाल्पा । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीलाई कमजोर पारिए समानुपातिक समावेशी व्यवस्था माथि खतरा उत्पन्न हुने चेतावनी दिएका छन् ।
उनले माओवादीको योगदानकै कारण देशमा समानुपातिक समावेशी व्यवस्था स्थापित भएको भन्दै यसलाई जोगाउन पार्टीलाई सशक्त बनाउनुपर्ने बताएका छन् ।
नेकपा माओवादी तानसेन नगर समितिको तेस्रो अधिवेशन उद्घाटन गर्दै नेता श्रेष्ठले भने, “माओवादीलाई कमजोर पारियो भने समानुपातिक समावेशी व्यवस्था खोसिन्छ । महिला, दलित, जनजाति तथा पिछडिएको वर्गको अधिकार सुरक्षित गर्ने सवालमा माओवादीको महत्वपूर्ण भूमिका रहेको बताए ।
श्रेष्ठले संघीयताको महत्व दर्शाउँदै अहिले स्थानीय तहलाई सशक्त बनाइएको उल्लेख गरे । उनले भने, “पहिले सांसद र मन्त्री समातेर सिंहदरबार धाउनुपर्ने बाध्यता थियो, तर अहिले वडामै ५०–७० लाखका योजना कार्यान्वयन हुने व्यवस्था छ।” माओवादीकै योगदानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको र संघीयता कार्यान्वयन सम्भव भएको उनको भनाइ थियो । उनले सबैलाई माओवादीलाई शक्तिशाली बनाउन एकताबद्ध हुन आह्वान गरे।
कार्यक्रममा अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नयाँ कार्यकर्ताहरूलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अविर लगाएर स्वागत गरेका थिए ।
शनिबार तानसेनमा सम्पन्न तेस्रो अधिवेशनबाट सिंजालीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । नवगठित नगर समितिको उपाध्यक्षमा युवराज पन्त, अमर राना र मञ्जु बिक निर्वाचित भएका छन् । यस्तै सचिवमा नवराज बस्याल सहसचिव, नेत्र गौतम र कोषाध्यक्ष बासुदेव अर्याल चयन भएका हुन् ।