अविजित पन्थी
अर्घाखाँची, २० पौष
अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ का वडा अध्यक्ष चन्द्रकान्त पौडेलले १७ वटा मुख्य योजनाहरू सफलतापूर्वक सम्पन्न गर्दै वडालाई विकास र समृद्धिको नयाँ उचाइमा पुर्याएका छन् । शैक्षिक, स्वास्थ्य, कृषि, र पूर्वाधार विकासमा उदाहरणीय काम गर्दै आएका पौडेलले छिट्टै सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारी गरेका छन ।
शिक्षा र स्वास्थ्यमा सुधार
अध्यक्ष पौडेलले विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गर्दै शैक्षिक गुणस्तर सुधारमा विशेष ध्यान दिएका छन् ।विद्यार्थीहरूलाई नियमित विद्यालय आउने बानी बसाल्न शैक्षिक सामग्री वितरण गरिएको छ । स्वास्थ्य क्षेत्रमा पनि भवन निर्माण, औषधि वितरण, र जेष्ठ नागरिक सम्मान जस्ता कार्यक्रमहरू सञ्चालन गरिएका छन्।
कृषि र पूर्वाधार विकास
वडामा कृषि प्रवर्द्धनका लागि कृषकहरूलाई कृषि औजार वितरण, अनुदान व्यवस्थापन, र घुम्ती शिविर सञ्चालन गरिएको छ। साथै, सडक निर्माण, खानेपानी पाइप वितरण, र जंगलका जनावरबाट खेती जोगाउन भोटे कुकुर वितरण जस्ता कार्यहरू सम्पन्न भएका छन्।
समुदाय र खेलकुद प्रवर्द्धन
समुदाय स्तरमा वडा स्तरीय खेलकुद कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान र लक्षित वर्गका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेर सामाजिक विकासमा योगदान दिइएको छ।
नियमित अनुगमन र प्रशासनिक सेवा
अध्यक्ष पौडेलले कार्यालय समयमै उपस्थित भई दैनिक गतिविधिको अनुगमन गरेका छन । यो सेवाले स्थानीयलाई सिधै लाभ पुगेको र“सिंहदरबार गाउँमा आएको” अनुभव गराएको स्थानीय प्रमोद गौतमले बताएका छन ।
भविष्यका प्रतिबद्धता
पौडेलले अझै थुप्रै विकासका काम गर्न बाँकी रहेको स्वीकार्दै बजेट र स्रोत व्यवस्थापनमा सुधार गर्दै वडाको समग्र विकासमा निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन्।
स्थानिय सुन्तला कृषक र नेपाली कांग्रेसका युवानेता समेत रहेका पौडेलले वडालाई शिक्षा, कृषि, र पूर्वाधारका क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य राखेका छन ।

