शिव सुवेदी
नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ ।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा देखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको हो ।
आश्विन शुक्ल पूर्णिमा सम्म १५ दिन धूमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधि पूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरीपूजा आरम्भ हुन्छ ।
बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठाअथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलोजमरा पनि ग्रहण गरिन्छ ।
जमरामा जौँबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्रा.डा.रामचन्द्र गौतम बताउछन । कूल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौँ सित रोप्ने गरेका छन । जमरालाई आयुर्वेदिकऔषधिका रूपमा समेत प्रयोग गरिन्छ ।
घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
नौ दिन नौ दुर्गाको पूजा
पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिएको छ ।