मादी (संखुवासभा), २६ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले स्थानीय तहमा आएको बजेटको पूर्ण कार्यान्वयनका लागि आग्रह गर्नुभएको छ ।
संखुवासभाको मादी नगरपालिकाले मंगलबार साँझ आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा उहाँले सबै राजनीतिक दल, सरोकार भएकाहरू र जनतालाई साथमा लिएर बजेट कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो । “जनतालाई स्थानीय सरकार भएको आभाष गराउने गरी काम गर्नुपर्छ । सबै पार्टीसँग हातेमालो गरेर स्थानीयस्तरका समस्या समाधान गर्न र बजेटको सही कार्यान्वयन भएमा पक्कै पनि यहाँको विकास हुनेछ । यसतर्फ लाग्न यहाँहरू सबैलाई मेरो आग्रह छ”, उहाँले भन्नुभयो ।
मन्त्री खड्काले जनताको ईच्छा र आकाङ्क्षानुसार सबै तहका सरकारले काम गर्नुपर्ने उल्लेख गर्नुभयो । “म यस क्षेत्रको जनप्रतिनिधि सङ्घीय सरकारको मन्त्री भएको छु, यसर्थमा पनि मादी र सिङ्गो संखुवासभाको विकासमा मेरो पनि दायित्व छन् । त्यसैले संखुवासभाबासीले थप लाभ पाउनेगरी काम गरिरहेको छु ।”, उहाँको भनाइ थियो । ऊर्जामन्त्री खड्काले यस वर्षभित्र संखुवासभाका सबै स्थानमा विद्युतीकरण गर्ने गरी सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।
मादी नगरप्रमुख जीवन लिंथेपले निर्वाचनताका गरिएका बाचा पूरा गर्न स्थानीय सरकार लागिरहेको र यसमा केन्द्र सरकारले सहयोग गरे थप सहज हुने बताउनुभयो । उहाँले विकास निर्माणको काममा नगरपालिकाले राजनीति नगर्ने समेत जिकिर गर्नुभयो ।