शिव सुवेदी / बुटवल
ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।
हरितालिका(तीज)को व्रत एवं पूजा आजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ ।
महिलामा रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वासगरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको मानिन्छ ।
रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने एवं जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजागर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो ।आज स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।
यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । यहाँ महिला भक्तजनले अरुन्धतीसहित सप्त ऋिषिको पूजा लगाउने गर्छन् । मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजा, आराधना गर्ने गरेका छन् ।